✍️एन.के. जोशी ,प्रधान सम्पादक (सुदूरचिनारी डोटेली पत्रिका धनगढी,कैलाली)
अधिकांश मान्छे धनी बन्न लालायीत देखिन्छन् तर सुखी देखिदैनन् । शैक्षिक योग्यता हाँसिल गर्न लागीपछर्न् । ज्ञानी देखिदैनन् । समाजसेवी बन्न रूचाउँछन् । स्वार्थ त्याग्न सक्दैनन् । काम पाउन मरिहत्ते गछर्न् । कर्तब्य बिर्सिन्छन् । पाउन आस राख्छन् । दिनु पर्दा निरास देखिन्छन् । सम्मान चाहन्छन् । ब्यवहार गर्न जान्दैनन् । आफु सुरक्षित हुन चाहन्छन् । अरूलाई त्रासमा राख्छन् । आफु स्वतन्त्रता चाहन्छन् । अरूलाई अंकुश लगाउँछन् यस्तै कति–कति ।
समाज सभ्यता उन्मुख छ भन्छन् तर असभ्यताको पराकाष्ठा बढ्दैछ । यौटै टोलमा बस्नेको त कुरै छोडौं यौटै छतमुनी बस्नेहरूका बीच राम्रो चिनाजानी र आत्मीयता छैन । कुनै लत नभएकाहरूले मन खोली कुरा साँट्ने साथी पाउनै गाह्रो छ । सपिण्डी भित्रका आफन्तको कुरा छोडौं काका र फुपु अनि कतिपय त दाजु र भाइका सन्तान नै अपरिचित बन्दैछन् ।
इष्टमित्रको घनिष्ठता पातलो हुँदैछ । सहकर्मिकै बीचमा अविश्वास मौलाउँदो छ । एकल परिवारको होडबाजीले जेष्ठ नागरिकहरूले सहारा गुमाउँदै छन् । श्रीमान् श्रीमतीको सम्बन्ध बिच्छेदले वर्षेनी नयाँ रेकर्ड थप्दैछ । प्रेमी प्रेमीका घातमा मात्रै बृद्धि भएको छैन । हत्या, हिंसा र बलत्कारका घटना दैनिक समाचार बन्दैछन् । सडकमा बेवारिसे बाल–बालिका र मानसिक सन्तुलन गुमाएकाहरूको संख्या बढ्दो छ । राजनीति व्यवसायमा परिणत हुदैछ । हरेक कामका लागि कसै न कसैको चाकडी गर्नु स्वभाविक बन्दैछ यस्ता त कति–कति ।
मानिसले जसरी भौतिक बिकास गरेर सफलताको सिंढी पार गर्दैछ, त्यस सँग–सँगै चारित्रिक विकास पनि भइदिएको भए ब्यक्ति, घर परिवार, समाज, राष्ट र यो संसार कति शान्त, सुरक्षीत र आनन्दमयी हुन्थ्यो होला ? आँखिर हामी चारित्रिक विकास गर्न कहाँ कहाँ चुक्दै आयौं र अझै कहाँ–कहाँ चुक्दै छौं भन्ने चिन्तन मनन गर्ने न कसैलाई फुर्सद छ न त चाँसो नै । यदि चिन्ता र चाँसो हुँदो हो त अभिभावक आफ्ना बाल–बालिकालाई संस्कार र संकृतिबाट विमुख गराउँने थिएनन् । समाज मुकदर्शक बनिरहने थिएन । धर्मका ठेकेदारहरू राजनैतिक दल र दल भित्रका पनि गुट–उपगुट जस्तै आ–आफ्नै शाखा बिस्तारमा माात्र सीमित रहने थिएनन् । अनि राज्यका शासक र संयन्त्र निहित स्वार्थमा केन्द्रित आइ.एन.जी.ओ., शक्तिशाली राष्ट्र र छिमेकीको मतियार बनि जाति, बर्ग, समुदाय र लिङ्ग केन्द्रित राजनीतिमा मात्र रूमल्लिइ रहने थिएनन् होला ।
यी र यस्तै–यस्तै दिक्दारीहरूले गर्दा कहिलेकाँही महान पुर्खाहरूलाई सम्झिन मनलाग्छ । एक्काइसौं सताब्दिका यी कहाली लाग्दा दृश्यहरूलाई ईशापूर्व भन्दा पनि सयौं वर्ष पहिलेनै आकलन गर्न सक्ने दूरदृष्टि अनि सतर्क रहन गरिएका आह्वानहरू कति महत्वपूर्ण छन् तर हामी तिनलाई नजरअन्दाज गर्दैैछौ । कतिले त्यस्ता निर्देशनहरूलाई धार्मिक ग्रन्थ सम्म मानेका छौं र औपचारिक पूजा–पाठ समेत गर्ने गर्छौ तर व्यवहारमा लागु गर्न आवश्यक ठान्दैनौ । पटमूर्खहरूले समेत महत्व बुझ्न सकुन भनेर ती महामानवहरूले अति आवश्यक व्यवहारलाई संस्कार र संस्कृतिका रूपमा जोडिदिए प्राणि जगतका लागि अति आवश्यक आकाश, जल, बायु, प्रकाश लगायतका प्रकृतिलाई धर्म सँग गाँसिदिए । त्यसो नगरीदिएका भए सायद हामीलाई यो सुन्दर संसार देख्ने सौभाग्य नै मिल्ने थिएन होला । यदि हामी यसैगरी पारीवारिक, सामाजिक र पारिस्थितिक प्रणालीमाथि खेलबाड गर्दै जाने हो भने युवा–युवती बिबाह सँग डराउने छन् । दम्पति सन्तान जन्माउन रूचि राख्ने छैनन् । हत्या, हिंसा र बलात्कार जस्ता घटना चाहेर पनि रोक्न सकिने छैन । प्रकृतिले शुद्ध पिउने पानी, शुद्ध हावा र बिकिरण रहित प्रकाश दिइरहन असमर्थ रहने छ । अतिबृष्टि, अनाबृष्टि, आँधिहुरी, बाढी–पहिरो, खडेरी जस्ता प्राकृतिक बिपत्ति बढ्दै जानेछन् र सर्बश्रेष्ठ मानव जाति समेत अनेकन रोग, भोग र शोकले ग्रस्त हुदै जाने सुनिश्चित छ ।
तसर्थ आफु र आफ्ना सन्ततिको भविष्यको सुनिश्चितता तथा सर्वश्रेष्ठ प्राणीको पगडी धारण गरी राख्नकै निमित्त भए पनि न्यूनतम मानवीय मूल्य–मान्यता र कर्तब्यको सबैले हेक्का राख्दै भौतिकवादको बुद्धिमता पूर्वक उपयोगका साथ–साथै आध्यात्मिक चिन्तन र तदनुसारको व्यवहार अपनाउन अपरिहार्य देखिन्छ । जीवन र जगतको सन्तुलन कायम राखिराख्न मानवको सन्तुलित व्यबहार आवश्यक छ । त्यसका लागि शरीर, मन र बुद्धिको सन्तुलन हुनु आवश्यक हुन्छ । जसका निमित्त बिभिन्न कालखण्डमा बिभिन्न महापुरूषहरूले व्यक्त गर्नु भएका केही निम्न विचारहरू सहयोगी हुन सक्दछन् ः–
यस्तो कार्य गरौं जो वर्षौ पछि पनि फर्केर हेर्दा सार्थक लागोस् ।
सकारात्मक भावना र सदाचारका साथ जिऔं ।
दुष्कर्मले आफू र अरू दुबैको कुभलो हुन्छ भने सत्कर्मले दुवैको भलो हुन्छ ।
कर्मको फल ढिलो चाँडो भोग्नु नै पर्दछ ।
आत्म विस्मृतिनै ठूलो शिक्षा हो ।
वास्तविक सुख, स्वार्थरूपी पर्दालाई हटाउँदा मात्रै प्राप्त हुन्छ ।
परोपकारका प्रत्येक कार्य, सहानुभूतिका प्रत्येक विचार र अर्काको सुखका लागि गरिने प्रत्येक भलाइका कार्य नै सुखका आधार हुन् ।
विचारमा भावना मिसाउदा दृष्टिकोण बदलिन्छ ।
जागरूकताका साथ जीवन जीउन सक्नुको आनन्द छुट्टै हुन्छ ।
शिव र शक्ति एक अर्काका परिपूरक हुन् भन्ने सत्यताको बोध हरेक पति र पत्नीले गर्न जरूरी छ ।
प्रेमको पर्याय विश्वास हो । प्रेम गर्नेले एक अर्काको स्वतन्त्रता प्रति विश्वास गर्न सक्नु पर्दछ ।
प्रेमको वास्तविक अर्थ जागरूकता नहुनु हो । किनकी जहाँ प्रेम हुन्छ, त्यहाँ अन्य चीजको आवश्यकता नै महशुस हुदैन ।
अहम त्याग गर्न नसक्ने व्यक्ति जतिसुकै ज्ञानी भएता पनि मुक्ति प्राप्त गर्न सक्दैन ।
पाँच ज्ञानेन्द्रिय र छैटौं मनले मेरो मात्रै कल्याणको भावना राख्दछन् ।
सौभाग्य र दुर्भाग्य कर्ममा निर्भर हुन्छ ।
धन सम्पति सुख प्राप्तिको माध्यम हुन सक्दैन ।
इच्छा र आवश्यकता बीचको भेद खुट्याउन नसक्दा मान्छे सुखको खोजी गर्दा गर्दै सदैव दुखी नै रहिरहन्छ ।
योग र साधनाले जीवनको रक्षा कवच प्रदान गर्दछ ।
मनको हारबाट हार र जीतबाट जीत हुन्छ ।
सत्यबाट विमुख ब्यक्ति सधैंव दुखी नै रहन्छ ।
जसको हृदयमा श्रद्धा छ उसलाई पूजा गर्न आफ्नो सामुन्नेमा कुनै मूर्तिको आवश्यकता पर्दैन ।
अर्कालाई परिवर्तन गर्नु कसैको बसमा छैन । केवल आफैलाई परिवर्तन गर्न सकिन्छ ।
दुःख नगरी प्राप्त गरेको चीजले आनन्दित पार्न सक्दैन ।
कुनै पनि भौतिक पदार्थबाट पूर्ण सन्तुष्टि सम्भव हुदैन ।
विषय वासनाबाट कहिल्यै तृप्ति प्रात्त हुदैन ।