कात्तिकको चिसो साँझ, गाउँघरको ढकमक्क सयपत्री फुलेकाआँगनमा रमाउँदै गाइने मौलिक देउसीभैलो गीतहरू बिस्तारै लोप हुँदै अनि कहिल्यै नसुन्ने भइसकेको जस्तो देखिन्छ। मौलिक देउसीभैलो जसमा पुराना लोकगीत, नाचगान, र परम्परागत भेशभूषाको झल्को पाइन्थ्यो । तर अहिले बिस्तारै डिजेको स्वरले सबैकुरा विस्थापित गर्दै गएको छ।
अहिलेका युवा पुस्ताले मौलिक देउसीलाई बेवास्ता गर्दै डिजेको आकर्षणतर्फ आकर्षित भएका देखिन्छन। डिजे देउसीभैलोको प्रभाव यति धेरै बढेको छ कि स्थानीय र पुराना संस्कृति झल्कने मौलिक देउसीभैलो पनि बेपत्ता हुन थालेको छ। डिजेको तालीमा झुम्न पाउने, रंगीबिरंगी प्रकाशले सजिएको माहोलमा रमाउन पाउने हुँदा युवा पुस्ता यसको आकर्षणमा परेका छन्।
मौलिक देउसीभैलोमा सामान्यतया गीत, नाचगानका साथमा आशीर्वाद दिने परम्परा थियो भने डिजे देउसीभैलोमा भने केबल मनोरञ्जनको अभावमा मात्र नभई पैसाको कारोबारलाई पनि जोड दिएको पाइन्छ। डिजे बजाएर विभिन्न ठाउँमा गएर प्रदर्शन गर्ने युवा समूहहरूले राम्रो आम्दानी गर्ने गरेका छन्। यसरी मौलिकता भन्दा पनि डिजेको शैली लोकप्रिय हुँदै गएको अनुभुती हुँदै गएको छ ।
यस्ता बदलिँदो प्रचलनका कारण हाम्रो मौलिक संस्कृति संकटमा परेको छ। संस्कृति संरक्षणका लागि विशेष योजना र कार्यक्रमहरू बनाएर मौलिक देउसीभैलोलाई पुनःस्थापना गर्ने पहल नगरिएमा, भविष्यमा देउसीभैलोको मौलिकता हराउने डर बढ्दै गएको छ।
समग्रमा, डिजे देउसीभैलोको लोकप्रियताले मौलिक देउसीको महत्वलाई विस्थापित गर्दै गएको छ। अझै समय छ, हामीले हाम्रो मौलिक देउसीलाई बचाउनुपर्ने आवश्यकता महसुस गरेर यसलाई नयाँ पुस्तालाई आकर्षक बनाउँदै, संरक्षण र प्रवर्धन गर्नुपर्ने देखिन्छ ।