सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश विद्यालय बाढी, पहिरो, आगलागी, र चट्याङजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा छन्। विद्यालयहरू जंगल, खोला किनार, भिरालो स्थानमा निर्माण गरिएकाले विद्यार्थी र शिक्षकहरूको सुरक्षामा गम्भीर चुनौती देखिएको छ।
कैलाली जिल्लाको चुरे गाउँपालिका–३, सहजपुरमा रहेको ग्वासी आधारभूत विद्यालय यसको ज्वलन्त उदाहरण हो। सल्लाघारीको बीचमा रहेको यो विद्यालय चट्याङ, आगलागी, र हावाहुरीका कारण जोखिममा छ। हावाहुरी चल्दा सल्ला रूख ढलेर विद्यालयमा ठूलो क्षति हुन सक्ने त्रास विद्यालयलाइ छ।
भिमदत्त राजमार्गबाट झन्डै १०० मिटर तल सजिलै देख्न सकिने स्थानमा रहे पनि अझै सरोकारवालाको ध्यान यसतर्फ पुगेको छैन। विद्यालय व्यवस्थापन समितिले बारम्बार जोखिम न्यूनीकरणका लागि अनुरोध गरे पनि संबंधित निकायले अहिलेसम्म कुनै सुनुवाइ भएको देखिदैन । “चट्याङ र हावाहुरीले गर्दा विद्यालयमा पढ्न त्रासदीपूर्ण वातावरण छ। सल्ला रूखहरूको जोखिम हटाउन छिटो पहल भएन भने ठूलो दुर्घटना हुने डर छ,” विद्यालयका प्रधानाध्यापक इन्द्रराज भण्डारीले बताए।
अभिभावकहरूले पनि बालबालिकाको सुरक्षाप्रति चिन्ता व्यक्त गरेका छन्। “जंगलको बीचमा विद्यालय हुँदा चट्याङ र रूख ढल्ने डरले विद्यालय पठाउनै कठिन भएको छ। यो समस्या तुरुन्त समाधान गर्नुपर्छ,” एक स्थानीय अभिभावकले भने।
ग्वासी आधारभूत विद्यालय मात्र होइन, सुदूरपश्चिमका धेरै पहाडी जिल्लाका विद्यालयहरू प्राकृतिक प्रकोपका कारण जोखिममा छन्। डोटी, अछाम, बाजुरा, बझाङ,बैतडी लगायतका धेरै विद्यालय बाढी, पहिरो, जंगलको आगो र चट्याङबाट प्रभावित हुने सम्भावनामा छन्।
विशेषज्ञहरूले जोखिममा रहेका विद्यालयहरूलाई सुरक्षित स्थानमा सार्ने, संरचनात्मक सुधार गर्ने, र आपतकालीन पूर्वतयारी कार्यक्रम सञ्चालन गर्ने आवश्यकता औंल्याएका छन्। प्राकृतिक जोखिमको अवस्थामा सरकारले प्राथमिकताका साथ योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवाज उठेको छ।
स्थानीय प्रशासनले केही योजना बनाएको भए पनि स्रोतसाधन अभावका कारण समस्या जस्ताको तस्तै छ। ग्वासी आधारभूत विद्यालय र अन्य जोखिममा रहेका शैक्षिक संस्थाहरूलाई सुरक्षित बनाउने दिशामा समयमै ठोस कदम चाल्नुपर्ने देखिन्छ। विद्यार्थीहरूको जीवन र शिक्षालाई सुरक्षित बनाउनु पर्ने शैक्षिक भविष्यको लागि अत्यन्त जरुरी छ।