आज, डिसेम्बर ३, नेपालमा पनि अन्तरास्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रमहरूको साथमा मनाइँदै छ। यो दिवस अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र समावेशी समाज निर्माणका लागि सचेतना फैलाउने अवसरका रूपमा मनाइन्छ। नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था अझै पनि चुनौतीपूर्ण रहेको छ, र यो दिवसले यससम्बन्धी ध्यान आकर्षण गराउन महत्त्वपूर्ण भूमिका खेल्दछ।
नेपालमा २०११ को जनगणनामा अपाङ्गता भएका व्यक्तिहरूको संख्या कुल जनसंख्याको १.९४ प्रतिशत (२.५६ लाख) रहेको देखाइएको छ, जसमा शारीरिक अपाङ्गता, मानसिक अपाङ्गता र दृष्टिहीनता भएका व्यक्तिहरू समावेश छन्। यद्यपि, यो आँकडा यथार्थभन्दा कम रहेको विशेषज्ञहरूको भनाइ छ। विश्व स्वास्थ्य संगठनका अनुसार, कुनै पनि समाजमा १०-१५ प्रतिशत जनसंख्या अपाङ्गता भएका व्यक्तिहरू हुन्छन्, जसका आधारमा नेपालमा लगभग ३० लाख मानिस अपाङ्गता भएका हुनसक्छन्।
नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन विभिन्न समस्या र चुनौतीहरूको सामना गर्दै आएको छ। शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र सार्वजनिक पूर्वाधारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि अवसर र पहुँच सीमित छन्। अपाङ्गता भएका बालबालिकाका लागि विशेष विद्यालय र स्रोतको अभाव छ, र धेरै विद्यालयहरू अपाङ्गता भएका बालबालिकाहरूको लागि अनुकूलित छैनन्। ग्रामीण क्षेत्रका व्यक्तिहरूका लागि शिक्षाको पहुँच अझ कठिन छ।
रोजगारीका अवसरहरू पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि सीमित छन्। सरकारले कानूनी रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि ५ प्रतिशत रोजगारीको कोटा व्यवस्था गरे पनि यसको कार्यान्वयन सही ढंगले भएको छैन। स्वास्थ्य सेवाको अवस्था पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि चुनौतीपूर्ण छ। सरकारी अस्पतालहरूले केही सेवाहरू प्रदान गर्दा पनि ती पर्याप्त छैनन्।
सार्वजनिक यातायात र अन्य सार्वजनिक पूर्वाधारहरू अपाङ्गता भएका व्यक्तिहरूका लागि अनुकूलित छैनन्। अपाङ्गता भएका व्यक्तिहरूका लागि जीवनलाई सहज बनाउनका लागि सरकारले अझै पर्याप्त पहल गरेको छैन। नेपाल सरकारले २०७४ मा “अपाङ्गता अधिकार ऐन” लागू गरे पनि यसको कार्यान्वयन प्रभावकारी छैन।
सामाजिक र सांस्कृतिक दृष्टिकोणले पनि अपाङ्गता भएका व्यक्तिहरूको जीवन अझै कठिन छ। अपाङ्गता भएका व्यक्तिहरूलाई धेरैजसो बोझको रूपमा हेरिन्छ, जसले उनीहरूको मानसिक स्वास्थ्य र सामाजिक समावेशीकरणमा नकरात्मक प्रभाव पार्छ।
विश्व अपाङ्गता दिवसले हामीलाई अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र समान अवसरको महत्त्व याद गराउँछ। सरकार, समाज र परिवारको एकजुट प्रयास बिना समावेशी समाज निर्माण गर्न असम्भव छ। अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र सार्वजनिक पूर्वाधारमा आवश्यक सुधारहरू गर्नुपर्ने आवश्यकता छ। केवल अवसर र पहुँचको बराबरी वितरण गरेर मात्र समावेशी र समान समाज निर्माण गर्न सकिन्छ।