✍️उमेश कुमार साउद , प्रधानाध्यापक रत्न आ वि जोरायल गाउँपालिका ३ रावतकट्टे डोटी
नेपालको संबिधानले माध्यमिक शिक्षाको हक स्थानीय तहलाई दिएको कुरालाई आत्मसाथ गर्दै नेपालका थुप्रै स्थानीयतह हरुले कार्यविधी तथा शिक्षा ऐन बनाएर शिक्षाक्षेत्रलाई आफ्नो अनुकुल बनाउन खोजेको पाईन्छ । बिकेन्द्रीकरणको गतिलो उदाहरणको रुपमा शिक्षालाईमात्र लिन खोजियको बर्तमान भाष्यलाई एक हिसावले नकार्न सकिदैन। बिकासको मुलद्वारको रुपमा शिक्षालाई मानिन्छ, कारण हो जब शिक्षाको प्रचुर बिकास हुन्छ तबमात्र बिकासका अन्य पक्षहरुमा नागरिकहरुले चासो राख्ने गर्दछन् ।
नागरिक सचेत भएमा समाज बिकासित हुन कुनै समयनै लाग्दैन ।गुणस्तरीय शिक्षा आफ्ना नागरिकहरुलाई उपलब्ध गराउनु सवै तहका सरकारको उत्तिकै जिम्मेवारी रहेको भएतापनि स्थानीय तहले स्थानीयस्तरमा आवस्यकता र चासोको आधारमा शिक्षा योजनाहरु तयार पार्ने गरेको पाईन्छ। शिक्षामा बर्षौदेखिको शैक्षिक क्षेतीलाई न्युनिकरण गर्दै शैक्षिक अवस्थालाई सुदृढ गर्ने क्रममा थुप्रै स्थानीय सरकारले थुप्रै प्रकारका रणनीतिहरु अवलम्बन गर्दै आएको पाईन्छ। ठुलो धनराषीलाई शिक्षामा लगानी गरेको पाईन्छ। परिणाम फेरी पनी सोचेजस्तो प्राप्त हुन सकेकोछैन। बिभिन्न स्थानीयतहहरुमा शिक्षाक्षेत्रलाई नजिकबाट चिनेका र शिक्षण पेशाको अनुभव लिईसकेका जनप्रतिनिधीहरु निर्वाचित भएको अवस्थाछ । त्यसो भएकालेपनि शैक्षिक जगत वा विद्यालय शिक्षानै सवैभन्दा पहिला सरकारको दृष्टीमा पर्नु स्वभाबिक मान्नुपर्दछ। सकारात्मक सोच र चिन्तनकासात बिद्यालय शिक्षामा स्थानीय सरकारले गरेको हस्तक्षेपकारी भुमिकाको सवैले मुक्त कण्ठले गुणगान गाउनुपर्छ परन्तु दुषित मनस्थीति बोकेर राजनैतीक क्लेश र द्वैष फैलाउन, शिक्षकलाई जवरजस्त राजनीतिमा तान्न खोजिनु मनासिब होईन।
शिक्षकहरुलाई सरुवाको नाममा त्रसित बनाउनु र कार्यगर्ने वातावरण हुन नदिनु शैक्षिक भविष्यकोलागि भयानक दुःखद हो। त्यस्ता कार्यमा स्थानीय तह अल्झिनुभन्दा शैक्षिक गुणष्तर वृद्धिकालागि के गर्न सकिन्छ, बृहत छलफल हुन जरुरी छ। हाम्रा बिद्यालयहरुबाट उत्पादन भएका मानवस्रोत कस्तो बजार ओगट्न सफल छन यसको लेखाजोखा राखिनुपर्दछ। सवै प्रकारका शिकाई क्षमता भएका बिद्यार्थी र भौगोलक र भौतिक सुविधाबाट वन्चित बिद्यालयहरुको अवस्थामा सुधारल्याउने कार्यक्रम हरु हुन जरुरी छ ।
स्थानीयतहले गर्नुपर्ने सुधारका उपायहरुः
१:-विद्यालयहरुको भौतिक अवस्था सुदृढिकरणः न्युनतम मापदण्डका विद्यालय भवन, खानेपानी, खेलमैदान, सूचना प्रविधी युक्त कक्षाकोठा र शैक्षिक समाग्रीको प्रयाप्तता ।
२:-गरीब, बिपन्न र विद्यालय शिक्षाको सुविधाबाट बन्चितिकरणमा परेकाहरुलाई आवासिय व्यवस्था सहित शिक्षामा पहुँच स्थापना ।
३:-बिद्यार्थी र शिक्षक अनुपात मिलाई कक्षाकोठामा शिक्षक बिहिनताको अवस्थाको अन्त्य ।
४:-मासिक विद्यालय अनुगमनःProblem shooter Type ,classroom based जसकालागि एक विद्यालयशिक्षा सुधार Rapid force बनाईनुपर्छ। जसले बर्षमा सवै शिक्षकलाई एक ठाउँमा जम्मा गरेर तालिमाका नाममा लाखौं खर्च गर्नु पर्दैन।पेशागत दक्षाता र शिक्षण शिकाईमा देखिन समस्या कक्षाकोठामै समाधान गर्न यस प्रकारको अनुगमनले पहल गर्नुपर्दछ। कक्षा अनुगमन शिक्षकको मानमर्दन गर्ने खालको नभई अपेक्षाकृत हुन जरुरी छ ।
५:-असल अभ्यास हरु गरेर शैक्षिक उपलब्धी अब्बल रहेका विद्यालयका प्रधानाध्यापकहरुलाई असल नेतृत्वको मिशालको रुपमा समस्याग्रस्त विद्यालयमा ससम्मान सरुवा गर्ने र सम्बन्धित विद्यालयमा पछिल्लो क्रममा रहेका शिक्षकलाई जिम्मेवारी दिनुपर्दछ । (यसकालागि शैक्षिक सुधार गर्न सफल प्रधानाध्यापक हरु र उत्कृष्ट नतिजा दिने बिषय शिक्षकलाई सेवा सुविधा थप पनि एक हुन सक्छ ।)
६:-शैक्षिक क्षेत्रमा शैक्षिक वातावरण खल्बल्याउने,राजनैतीक पहुँच बनाएर शिक्षणकार्यमा समय नदिने, लापरवाही गर्ने शिक्षकलाई तुरुन्तै देखिने गरि कार्बाही गरिनुपर्दछ ।
७:-विद्यालय व्यवस्थापनको नाममा दलगत भागबण्डा बनाई नेतृत्व दिने र बैचारीक भिन्नताकै आधारमा शिक्षक कर्मचारीमाथि कामगर्ने वातावरण तयार हुन नदिने प्रचलनको अन्त्यकालागि दलको प्रतक्ष्य सदस्य बनेकालाई जिम्मेवारी दिईनुहुदैन । बरु त्यस्ता व्यक्तित्वहरुलाई संरक्षकको भुमिकामा राखिनु पर्दछ ।
स्थानीय पाठ्क्रमः
“Think globally, act locally” भन्ने अभिलाषाले नेपालको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा व्यवस्था भए अनुरुप सवैजसो स्थानीय तह हरुले स्थानीय पाठ्यक्रम तयार पारी लागु समेत गरेको पाईन्छ । कक्षा १ कक्षा २ र कक्षा ३ मा १६० पाठ्य घण्टाको र कक्षा ४ कक्षा ५ मा १२८ पाठ्य घण्टाको मात्रीभाषिक सीप वा स्थानीय आवस्यकता अनुसार भाषा, संस्कार, परम्परा चालचलन, धार्मीकस्थल, प्राकृतिक सम्पदा,ऐतिहासिक महत्वका ठाउँहरु र आर्थीक कृयकलाप लगाएतका बिभिन्न बिषयमा ज्ञात गर्ने गरी पाठ्क्रम तयार पार्न छुट दिएको छ । स्थानीय तहले तामझाम सहीत बनाएर विद्यालयमा लागुगरेका स्थानीयपाठ्क्रम कैयौं विद्यालयमा थन्क्याईएको अवस्थामा छन् बरु त्यस समयमा बिद्यालय छुट्टि गरिदिने यात खेल खेलाएर समय कटाउने गरिन्छ । स्थानीय पाठ्यक्रम लाई पठनपाठन गर्न Textbook based रहेका शिक्षकहरुलाई निकै सकस हुनेगरेको कारण पनि पठनपाठनको अवस्था दयनिय रहेको पाईन्छ ।
स्थानीय तहहरुले पाठ्यक्रमलाई पुर्ण लागु गर्न व्यवहारीक ज्ञानयुक्त सीपमुलक र निर्वाहमुखी विषयवस्तु छनोटगरी पठनपाठनको ब्यवस्था गर्नुपर्दछ। हाम्रा स्थनीयतहहरुमा सीप तथा कलाकौषललाई समेत जानकारीमुलक वा परीक्षामुखी तरिकाले मात्र पठनपाठन गरिने गरिन्छ त्यो स्थानीय पाठ्यक्रमको मर्म विपरितछ। अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्नसक्ने नागरिकको उत्पादन गर्ने उद्देश्य तय गरेर विद्यालय शिक्षामा स्थानियकरण गरिदा पक्कैपनि हाम्रा बिद्यार्थीहरु सक्षम र प्रतिस्पर्धी हुन सक्दैनन् । आफ्ना वर परका आर्थीक कृयाकलाप, साँस्कृतिक र परम्परागत कृयाकलाप,पर्यटकिय क्षेत्र लगाएतका कुराहरु बिद्यार्थीले उमेर बढे संगै व्यवहारमा खारिदै जाँदा आफै जानकारी प्राप्त गर्न सक्छन । यसलाई कक्षामा आफ्नो भाषा,संस्कृती र पहिचान संग जोडेर पठनपाठन गर्न खोजिएकोहो भने एकहदसम्म राम्रो मान्न सकिन्छ तर प्रत्यक्षे विद्यार्थीको जीवनमा त्यसले के फाईदा पुगाईरहेकोछ ? सोच्नुपर्दछ । डोको डालो, ढकिया टोकरी, बाँस निगालो र काठका सामाग्री निर्माण गर्नुपर्छ , यिनको प्रयोग गर्नुपर्छ भनेर जानकारी दिएरमात्र पुग्दैन त्यसैले स्थानीय पाठ्यक्रमलाई साँच्चिकै लागु गर्ने र व्यवहारमुखी बनाउनेहो भने शिक्षकलाई स्थानीय सामाग्री उत्पादन गर्न सक्ने गरी तालिम दिनुपर्छ र त्यस्ता स्थानीय पहिचान बोकेका उत्पादन बिद्यालयबाट उत्पादन गर्न लगाई प्रयोग गर्न प्रोत्साहित गरिनु पर्छ ।
हाम्रा कक्षा कोठाहरु ति स्थानीय सामाग्री उत्पादन गर्न सक्षम हुनुपर्दछ । अनिमात्र स्थानीय पाठ्यक्रमको सही भावना व्यवहारिक बन्दछ । आयातित संस्कृतीले समाज बिचलित भएको बेला स्थानीय भेषभुषा, भाषा , लवाई खवाई र बोलिचालीको कुरा गरेर मात्र नभई बिद्यालयको पोशाकनै स्थानीय भेषभुषा संग मिल्दो बनाई लागु गरिनु पर्छ । स्थानीय धार्मीक सांस्कृतिक परिबेषलाई अपनत्व दिलाउनेहोभने त्यस्ता चाडपर्वहरु मिलेर विद्यालयमा मनाउने वातावरण तयार पारिनुपर्दछ । मौलिक गित, नृत्य लाई कक्षाकोठामा शब्दहरुले बयान गर्नुको सट्टामा गाउन र नाच्न अभ्यास गराउने वातावरणको सृजना गर्नु पर्दछ । स्थानीय परम्परागत वाजागाजाका नाम मात्र जानकारी गराउनुको सट्टामा सम्भव भएसम्मका लोप हुन लागेका वाजाहरुको विद्यालयमा प्रयोग गर्ने वातावरण मिलाउनुपर्छ नत्र भने शिक्षकले भन्ने बिद्यार्थीले सुन्ने बाहेक कुनै प्रकारको परिवर्चन स्थानीय पाठ्यक्रमले ल्याउन सक्दैन बल्कि स्थानिय ,राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिस्पर्धाको बिचमा नराम्ररी भाँसिदै जाने सम्भावना देखिन्छ ।अवका दिनहरुमा स्थानीय सरकारको ध्यान विद्यालयिय शिक्षा सुधार गर्न र पूर्ण स्थानीय पाठ्यक्रम लागु गर्न यि कुरामा जानु पर्दछ।
बिद्यार्थीको आन्तरिक मूल्याङ्कनः
नेपालको मौजुदा शिक्षा प्रणाली अनुसार कक्षा १-३ मा पूर्ण उदार प्रकारको (CAS) निरन्तर बिद्यार्थी मूल्याङ्कन प्रणाली र कक्षा ४-८ सम्म पचास प्रतिशत आन्तरिक मूल्यङ्कन गर्ने गरिन्छ । बिद्यालयहरुमा लामो समयदेखि लागु हुँदै आएको परीक्षा प्रणालीमा अभ्यस्त रहेका शिक्षक विद्यार्थी र अबिभावक हरु समेतलाई यस नयाँ मूल्याङ्कन प्रणालीले त्यति सन्तुष्ट बनाउन सकेकोछैन । यस प्रकारको परीक्षा प्रणालीले बिद्यार्थीहरुमा पढाई प्रतिको दृष्टीकोण बदलिदिएकोछ। स्वतःकक्षा उतिर्ण भईन्छ भन्ने मनोदशा बलियो भएको पाईन्छ। कक्षा कार्यमा सहभागिता न्युन हुँदै गएको पाईन्छ । बिद्यार्थीहरु डिजिटल दुनियाँमा आफूलाई निकै अभ्यस्थ बनाई रहेका पाईन्छन । गृहकार्यमा चासो शुन्य जस्तै प्राय देखिन्छ । शिक्षकहरुमा मूल्याङ्कन सम्बन्धी अनबिज्ञता रहेको र अल्छि पनाका कारण शत्रान्तमा बिद्यार्थीलाई किष्तिमा राखेर अङ्क उपहार दिने चलन पाईन्छ । पेपर टेष्ट लिदाँ एक दुई अङ्क प्राप्त गर्ने विद्यार्थीको आन्तरिक मूल्याङ्कनमा असी नब्वे प्रतिशत भन्दा बढी अङ्क दिईएको पाईएकोछ । के आन्तरिक मूल्याङकन लाई यसरीनै अभ्यासमा ल्याउनेहो भने मूल्याङ्कनको मर्मलाई सही सम्बोधन गर्न सकिन्छ ? यस विषयमा सवै स्थानीयतह हरुले समयमै पहल गरी बिद्यार्थी मूल्याङ्कनका बिषयमा शिक्षकहरुमाझ रहेको अनबिज्ञतालाई समाधान गरिनु जरुरी छ।
तल्ला कक्षाहरुमा मूल्याङ्कन गर्न दिएका मूल्याङ्कन पुस्तिकाहरु बिद्यालयमा जम्मा गर्ने कार्य मात्रैले गुणस्तर ल्याउन मुस्किल पर्ने हुन्छ । धेरै जस्ता विद्यालयहरुमा शैक्षिकसत्रको अन्त्यमा बिद्यार्थीहरुको मूल्याङ्कन पुस्तिका भर्ने र अव्यवहारिक ढङ्गले कक्षा चढाउने गरेको पाईन्छ जसले गर्दा सामान्य पढाई लेखाई सीप नभएका बिद्यार्थीहरु माथिल्ला कक्षाहरुमा पाईन्छन् । यस्तो हुन नदिन सम्बन्धीत निकायले बेलैमा ध्यान दिन जरुरी छ ।