✍️अधिवक्ता कृष्णबहादुर खनाल, अनामनगर काठमाडौं
गाई जात्रा नेपालमा मनाइने एक विशेष पर्व हो, जुन मुख्यतः काठमाण्डौं र अन्य पहाडी जिल्लामा मनाइन्छ । यो नेपाली समाजको एक महत्वपुर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरु भएको जात्रा हो । जहाँ समुदायमा पितृगणको सम्झनामा गाईको रुप धारण गरी टोलटोलमा घुम्ने गर्दछन् । यो त वर्षको एक दिन चल्ने जात्रा हो यसको आफ्नै महत्व र विशेषता छ तर यहाँ त एक दिन होइन वर्ष भरि जात्रा चल्छ !जुन जात्रा कुनै व्यक्ति, घर, परिवार, समाज, समुदाय, दल, राज्य, प्रशासन, शक्ति आदिले मातहतमा चलाउछ त्यो महाजात्रा हो देशको !
घर भित्रै एक अर्कामा विश्वास छैन, घर भित्र भेद छ, सन्तानमा विभाजन छ, सोच र समझदारीको ओजन घटेको छ । एउटा विग्रे आर्को जोडले खुसि हुन्छ, आर्को सप्रेमा उ फेरी जोडले दुःखी हुन्छ । घर भित्रको भेदको छेदले सन्तानको विश्वास, भरोसा र आडको खम्बा डगमगाएको छ ! एउटाले आर्काको कुरा सुन्दैन ! मान्नुस घर घर मा जात्रा छ ।
एउटा परिवारले आर्को परिवारको भलो चिताउदैन दुःखमा साथ दिदैन । भएकाहरुलाई के गर्न पर्यो भनेर सोध्छ! नभएकाहरुलाई गर्न मन थियो तर भए पो गर्नु भनेर टार्छ ! आजकल परिवारहरु मेलापात, ऐचोपैचो, सरसहयोग, दुःख मर्कामा भेट हुन्नन् । पर्दा टाढा हुन्छ्न, यसको मतलव आवश्यकताको साथमा मानिसहरु भेटिदैन्न, खै के कसको डरले हो भेट हुन्छ त केवल घाटमा ! तर कुन खुसिमा हो त्यो थाहाँ छैन । जहाँ केवल मानिस केहिबेर बाह्य आशुको भेल छोडेर आर्यघाटबाट गौशाला तिर हानिन्छ मान्नुस या नमान्नुस परिवार परिवारमा पनि त जात्रा छ ।
समाजमा एउटा छुटै जात्रा छ एउटा समाजले निश्वार्थ रुपमा आर्को समाजलाई स्विकार्दैन, एउटा समुदायले छाउपडी, वोक्सी, दास दासी, कमारा कमारी, हलिया, उचनिच को हाँगामा पिङ हालेर मज्जाले खेल्छ, धर्मको खोल ओडेर व्यापार गर्नेलाई जोगाउछ ! धनीले गरिबलाई र गरिबले धनीलाई हेर्दा आकास जमिनको फरक देख्दछ, सुन र पित्तल जस्तै फरक भेट्छ, मानिस र जनावरको जस्तै शैली देख्छ । समाजमा छालाको रङ्ग हेरेर, भाषा सुनेर, पेशा, धर्म र जातको खोल ओढाएर एउटा मान्छेले आर्को मान्छेको शिरमा पाँउ राख्छ !! हेर्नु त समाज पिच्छे जात्रै जात्रा छ !
अब आयो देशको जात्रा र यिनका पात्रहरुको कुरा यो त झन रोचक छ । कहिल्यै मर्नु पर्दैन या मरिने छैन भन्नेहरु सत्ताको भर्र्याङ् चढेर तल हेरिरहेका छ्न ! कसैलाई केही गर्नु पर्दैन आफै र आफ्नालाई मात्रै गरिने छ भन्ने सोच भएका एकै किसिमका पात्रहरुको फिल्म चलिरहेको छ देशमा ! अनि कहाँ छैन देशमा महाजात्रा नपत्याए हेर्नुस सधै देउवा, सधै प्रचण्ड, सधै केपी, सधै माधव ….आलोपालो जोगीले शहर घुमे जस्तो सत्तामा यिन कै ओहोरदोहोर चलेकै छ, र्याल चुहाउने, टुक्का सुनाउने, सहकारीको रकम हजम गर्ने, सर्प पाल्ने यि सबलाई कस्ले कहिले किन फाल्ने !
यि भएन्न त भने पहाडमा भ्यू टावर बन्दैन, पानी जम्ने ठाँउमा एयरपोर्ट बन्दैन, बिना रेलको विभाग बन्दैन, फेरी स्वाधिनता कस्ले बेच्छ, घर्मको नाममा खेती कसले चलाउछ, सुन कसले तस्करी गर्छ, जनतालई शरणार्थी कस्ले बनाउँछ, संघियताको नाममा आफ्ना मान्छे कस्ले भर्ति गर्छ, दिन दिनै एयरपोर्टमा बिदेशीने युवाहरुको लाईन फेरी कहाँ जान्छ, आफ्ना मान्छेले ठेक्का कहाँ पाउँछन ।
फेरी यिनै शासक भएन्न भने कानुनको कार्यान्वयन यसरी नै फितलो कसले गर्ला आफ्ना मान्छेहरु न्याय दिने ठाँउमा कसरी पुग्छन ! आफू र आफ्नाले मात्रै न्याय पाएन्न भने आफु हुनुको अर्थ कहाँ जान्छ । जन्मदर्ता गर्ने स्थानिय निकायमा २०० नखाई कसले काम गरिदेला, म्याद गएका औषधी खुल्याम कस्ले बेच्न सक्ला, पानीको दाम कसले बढाउला, ट्याक्सी फेरी मिटरमा कुदन परे के काम लाग्यो । अस्पताले उपचारको नाममा कसरी लुटन पाउँला, घाटमा बस्नेले पनि मर्नेको नाममा खुल्याम खान पाएन भने मरेर जानेको आत्मा कति रुनु पर्ला !
मान्नुस यिनिहरु भएन्न भने भोट हाल्ने बेलामा हामीलाई एक छाक मासु भात कस्ले दिन्छ, मोटर साईकलमा तेल कसले हालिदिन्छ , दुई चार रुपैयाँ गोजीमा कसले थमाई दिन्छ । फेरी यिनीहरु छन र पो ढुक्क छ । व्यापारीले पानी मिसाएर तेल बेच्न पाँउछन । ढुगाँ मिसाएर दाल बेच्न पाउँछन, नक्सा देखाएर जग्गा वेच्न पाँउछ । नहुने भनेर तोकिएको काम भएर छाड्छ । हुनुपर्छ भनेर तोकिएको काममा खेल्न पाइन्छ । अड्डा पिच्छे नै दलालले हलाल गर्न पाँउछन सबको रोजीरोटी चलेको छ । फेरी यो रोकिए देश कसरी चल्ला ।
त्यस्ता भगवानहरु भएन्न भने यस्तो राम राज्य कसरी चल्छ ! र पो एउटै मान्छे नमरुन्जे सत्ताको स्वादमा रमाउँदाको महाजात्रामा खुसी लाग्छ अनी भन्न पाइन्छ दिल खोलेर मेरो दाजु जिन्दावाद, मेरो बा जिन्दावाद ……यस्तै यस्तै ।
यिनीहरु शासनमा भएन्न भने अपराधीहरु कहाँ उम्कन्छन, फेरी कस्ले कुन बलमा अपराध गर्ला, कसरी उम्केलान, कसले जोगाइदेला , यत्तीका लागी पनि अहिलेका बा हरुले पालैपालो देश हाक्नु पर्छ! फेरी आर्को कुरा बा हरु कै बाटोमा नयाँ छोराहरु उदाउँनु पर्छ र सत्ताको रथ यहिँ तरिकाले कुदाउनु पर्छ नयाँ बा बन्नु पर्छ र हामीले वाह भन्नुपर्छ । यसरी नै यो मुलुकमा ठुलो गाइजात्रा सफल पार्न सक्नु पर्छ ।
नत्र सरकारी जग्गा व्यक्तिको नाममा पार्नै सकिदैन, ठेक्कै पिच्छे रकम हात लाग्दैन, सोझो झण्डावाला गाडी चढेर सिधा घर र अफिस गर्दा कसले पत्याउछ । त्यसका लागी त सधै तयार हुनुछ, जे आउछ त्यो पचाउनु छ, पचाउन नसके केही ओकलेर बाडनु पर्छ , बाडेपछि बल्ल कुरो मिल्छ अनि आर्को कुरा लेभल मिलाएर सिङ्गो देशको अर्थतन्त्रलाई पिउँनु छ ! विस्तारै विस्तारै जिउँनु छ ।
यिनिहरु भएन्न भने त सरकारी कर्मचारीले जनता सँग कसरी घुस खान्छन, पुलिसले कसरी आफ्ना मान्छे छुटाउछ, ट्राफिकले कुनामा बसेर दुनामा दाना कसरी हाल्छ, विद्यालयले आफैले मनपरि शुल्क लिएर किताव, कापी, लुगा र खानाको व्यापार कसरी चलाउँला, दुधवालाले पानी र पाउडर घोलेर कहाँ दुध बेच्ला, सरकारी कार्यालयले कसरी विचौलिया पाल्ला, सडकमा स.वि., सत्तामा कवि फेरी कसरी उदाँउलान । धनीले मात्रै न्याय कहाँ पाउँलान ! यो गाई जात्रा भन्दा पनि महा जात्रा कस्ले देखाउला ।
अतः हामीले आफ्ना बाउको जिउँको लुगा निकालेर, यिनका लागी झण्डा बोक्नु पर्छ ।
सत्य कुरो गरेर गलत आम्दानी हुनबाट रोक्नेलाई, यो वा त्यो बहानामा ठोक्नु पर्छ ।।
हामीले पनि खुलमखुल्ला खान पाउनु परो, नत्र सत्यको दोकान हामीले नै बन्द गर्नुपर्छ ।
देशका लागी त भार भयौ भयौ हामी, यिनै शासक बा र दाईहरुका लागी अब मर्नुपर्छ ।।
युवा बेच्नुपर्छ, कर बढाउनु पर्छ, विउँ मास्नु पर्छ, उत्पादन पोखेर आयातलाई पोस्नुपर्छ ।
नत्र कमिसन कहाँ आउँछ, ठेक्का कहाँ पर्छ, आफु त बन्नु पर्यो नि, बरु देश बेच्नु पर्छ ।।
जय गाईजात्रा