✍️तीर्थराज भट्ट,( शिक्षक तथा साहित्यकार )-जोरायल गाउँपालिका ३ बेल्टुक्रा डोटी ।
मनिसैको दियो खायो सार,
छै ऋतु मानिस अम्मर काँ छ ?
ऋतु आउना बारैबार,
छै ऋतु मानिस एकै बार ।
गौरामा यस्तै यस्तै गीतहरू खेलाउने, न त नैटे साहू रहे, न त नैने खड्का न रहे ठेकराज ओझा वा समयको गतिसँगै न रहने छौँ हामी पनि । गौरा भन्ने बित्तिकै मलाई यिनै पात्रको याद आउँछ र सम्झन्छु, ‘जैसो पिडाउ पात पानी छै ऋतु तैसो मानिस जियडो ।’ पिडालुको पातमा रोकिएको पानी जस्तो क्षणभङ्गुर जीवनमा रहने भनेकै कर्म रहेछ । जानेहरू प्रतिको सम्झना, आउनेहरू प्रतिको आशा भएकाहरू बिचको हाँसखेल सायद जिन्दगी यस्तै यस्तै रहेछ । गौरा गीतमा जीवन जगत्का गहनतम् आदर्शहरू र दिग्दर्शनहरू छन् जसले खेलकारुलाई आनन्द मात्र दिएका हुँदैनन्, मानवीय जीवनको वास्तविक बोध गराई सायद वेद वा गीताको जस्तै तत्त्व ज्ञान प्रदान गर्दछन् ।
गौरा भन्ने बित्तिकै प्रफुल्ल हुने मन बोकेको तिर्थेले बेलाबेला लस्कर सम्झन्छ, ओझागाउँ, सेला वा अवस्थीगाउँ सम्झन्छ, फलेडी वा हाट सम्झन्छ र सम्झन्छ त्यतिका खेलकारुलाई खेलाइ लिने गीते वा मोडीलाई । त्यही क्रममा नैटे साहू, नैनसिँ खड्का त आउँछन् नै त्योभन्दा बढी उसको मनमा एउटा चित्र बलियो भएर आउँछ, जसको उसले सत्सङ्गत पाएको थियो, माया पाएको थियो भनौ या गौरामा बढी हिरो देखेको थियो । खैरो कमिज र सुरुवालमा सजिएको, गालामा च्याउरी परेको, टाउकाको टोपी बाङ्गो सिधाको ख्याल नगर्ने एउटा रूपाकृति तमामौँ खेलकारुको गोलको बिचमा उभिएको हुन्थ्यो । जोरजोरले चिच्याउँदै अझ भनौँ घाँटीका नसा फुलाउँदै गीत हाल्दथ्यो । थाहा छ, पढेलेखेको थिएन तर दसबाह्र दिनसम्म खेलिने गौराका सयौँ गीतहरू जम्मै कण्ठ थिए ।
ती ‘ठग्गो बावन’ का नामले चिनिएका ठेकराज ओझा थिए । मेरा लागि आदरणीय थिए, गौरामा सबैका लागि उत्तिकै महत्त्वका व्यक्ति थिए । अरू बेला कसैले मतलब राखुन् वा नराखुन् गौरामा उनको खोजी अवश्य हुन्थ्यो । अर्को यथार्थ यो पनि हो कि, उनलाई कसैले खोज्नै पर्दैनथ्यो जहाँ गौरा खेलाउने सल्लाह हुन्थ्यो त्यहाँ उनी आफै पुग्थे । सायद गौरा माताले नै उनलाई खाज्थिन् होला । अर्थात् उनी निकै सजिला मान्छे थिए । ज्ञान भएर पनि भाउ खोज्ने भन्दा भएको ज्ञानलाई सहज सम्प्रेषण गर्ने व्यक्ति समाजका लागि फलदायी हुन्छन् उनी त्यस्तै थिए ।
बेल्टुक्रामा पनि निकै राम्रा गौराका खेल हुन्थे रे जो मैले न खेल्न पाएँ न त हेर्न नै तर अलिअलि सम्झना भने छ, माझघर र मल्लाघरको गौराको । मल्लाघरको गौरा हाम्रा लागि काचै हुलुवाबेत खाने अवसर थियो, त्योभन्दा बढी सम्झना छैन । पछि ओझागाउँको गौरामा जान पाइयो, जहाँ टपी वा मिठाइ खानु, बेलुन किन्नु र उडाउनु आदि इत्यादि यिनै रहरहरू थिए । द्वन्द्वकालमा गौराको रहर गर्नु पनि कालै थियो सायद । त्यसैले गौरा खेलको रहर कसैले गर्न सकेनन् र हाम्रो कलिलो पुस्ता घाटामा पर्यो । आफ्नै गाउँघरमा ल्याइने र खेलिने गौरासँगको परिचय टुट्यो । द्वन्द्वकाल पछि कहिलेदेखि गौरा खेल्न सुरु गरियो त्यो त मलाई स्मरण छैन तर जबदेखि म गौरा घरमा जान्थे तब बुढाबुढा मानिसको गोलमा ठेकराज ओझा जोरले कराइ रहेका हुन्थे र अरू त्यही भास लगाइ रहेका हुन्थे, न शब्द बुझिने न लय बुझिने, न पैतल नै आउने मलाई ती खेल बेकारका लाग्थे । कति बेला यी बुढाहरू थाक्लान् र डेउडा खेल्न पाइएला भन्ने हुन्थ्यो । मलाई थाहा थिएन गौरा खेलको रसरङ र ढङ्ग ।
जब ठेकराज ओझाका खेलमा सिक्नका लागि लागियो । पटक पटक पैतल मिलाउन नजानेर, गीत नबुझेर भागियो । तर खेलकारु र गीते ठेकराज ओझाले छोपी छोपी ल्याई सिकाउनु भयो । मलाई मात्र होइन, मजस्ता युवा भनिएका तर पैतल देखेरै डराउने जमातलाई । खेलमा ‘यो गीत बुझ्दैन’ भनेर मेरै नजिक आई दुई तीन पटक गीत भनिदिएको कुरा खुब याद आउँछ । कृतज्ञ छु आदरणीय दाइ ठेकराजप्रति जसका कृपाले आफ्नो पुस्तालाई ढुक्कसँग भन्न सक्ने भएको छु – गौरा र डेउडा फरक कुरा हुन्, र गौरा गीत ज्ञानले भरिएका पोथडाहरू हुन् ।
पहिलो कुरा अब गाउँघरमा मानिसहरू नै छैनन् भएकाहरूलाई खेलाउने मोडी नै छैनन् । त्यही अभाव हुन नदिन ठेकराज ओझा कुदिरहेका हुन्थे अब उनी पनि छैनन् । केही वर्षदेखि जोरायलको सरस्वतीनगरमा गौरा खेल खेलाउने एकलौटी ठेक्का पाएका ठेकराजको स्वार्गारोहणपछि सायद दोस्रो कसैको आँट पुगेको छैन । त्यो आँट पुगे पनि ठेकराजकै पुस्तान्तरणका स्वरूपहरू हुन् । नौटे साहू, नैनसिँह खड्का आदिबाट दिक्षित ठेकराजले गौरा गीतको संस्कृति हामीसम्म पुर्याएका छन् । ठेकराजबाहेक अरू केही थिएनन् वा छैनन् भन्न खोजिएको होइन, जोरायलको सरस्वतीनगरमै बसोबास गरेका गीते उनीबाहेक कोही थिएनन् । छन त उनीभन्दा बढी जान्ने पनि थिए रे वा छन् जसको बसाइ तराई छ । तराई बसेका वा बाहिरका मानिस आफ्नो अनकूलतामा आउँछन् र खेलाउँछन् हाम्रो रहरमा होइन । ठेकराज हाम्रा रहरका विषय थिए, सरस्वतीनगरले वाध्य गर्नसक्ने र त्यही डोरीमा तानिने सजिला पात्र थिए ।
मलाई स्मरण छ, खेलकारुका बिचमा दौडी दौडी गीत हाल्दथे, कहीँनिर गीत बिर्सन्थे त कहीँनिर भन्नुपर्ने पक्षलाई नभनी अर्कै पक्षलाई भन्दथे । हामी खुब हाँस्दथ्यौँ । ठट्टा चल्नेहरू ठट्टात्मक रूपमा गिज्याउँथे । जति गल्ती गर्यो त्यति नै रमाइलो जस्तो, यही थियो अपनत्वको उदाहरण । ठेकराज दाइलाई सम्झनु पर्ने मसँग थुप्रै प्रसङ्गहरू छन् । मेरै घर आएर रातभरि गौराका गीतहरू मलाई टिपाएको देखि लिएर लस्करदेखि अवस्थीगाउँसम्मका झझल्काहरू मनमा सजिएका छन् । ढाँट्नु केही छैन अरू बेला ठेकराज दाइलाई सम्झन नसके पनि गौरामा उनको तस्विर, उनले खेलाका खेल, उनको डाको र स्वर कहिल्यै बिर्सने छैन ।
२०८० बैशाखमा जब उनको मृत्युको खबर सुने तब निकै स्तब्ध भएको थिएँ । स्तब्ध हुनुको कारण नजिक भएकाले मात्र होइन, एक त उनको उमेरले त्यो भन्दैनथ्यो । न त उनलाई त्यस्तो केही बिरामी छ भन्ने कुरा सुनिएको थियो । काम गर्दागर्दै एक्कासी सामान्य समस्या आउनु र उपचार गर्न जाने क्रममै मृत्यु हुनुले पत्याउनै गाह्रो भयो । निकै पछुतो रह्यो, धेरै कुरा सिक्न बाँकी थिए सिक्न पाइनँ । अर्को पछुतो एउटा कार्यक्रममा उनलाई संस्कृति संरक्षणमा खेलेको भूमिकालाई लिएर सम्मान गर्ने मेरो प्रस्ताव थियो, विविध कारणले त्यो गर्न सकिएन जो अहिलेसम्म मनमा आइरहन्छ । मृत्यु सबैको अप्रिय भए तापनि उनको मृत्यु आकस्मिक र निकै अपत्यारिलो थियो । प्रसङ्गबस कुरा आए आमा भन्नुहुन्छ, “मरु निकी त ठग्गो बाबनैकी लागी, फ्याट्टै मर्यो न गु न मुत, मरु त तिसी निकी !” सायद गौरा माताको आशीर्वाद यस्तै थियो कि !
यतिखेर फेरि एक पटक ठेकराज दाइसँगै खेल्न मन छ
‘मानिसको हाँस्यो बोल्यो सार छै ऋतु,
मानिस अम्मर काँ छ’
रहेनछ दाइ । मनिसको जीवन अम्मर रहेनछ । हामीले सोचेको जस्तो नहुँदो रहेछ । न त हाम्रो चाहनामा जन्म भयो न त मृत्यु नै । जीवनका यस्तै यस्तै गीतहरू सिकाएर जानुभयो । अहिले तपाईँ भएको भए गौराको बहानामा ओझागाउँ आउन पाइन्थ्यो । हाटदेखि दिएर सेगुनीसम्मका मानिससँग भेट हुन्थ्यो, परिचय हुन्थ्यो । अब यी कल्पनामा मात्र रहे । त्यो बेलाका भन्दा अहिले सबैका मोबाइलहरू गतिला थिए, राम्रो भिडियो नि आउँथ्यो । कतिले फेसबुकमा हाल्छन् गौराका भिडियो र फोटा तर त्यहाँ एउटा नायक ‘ठग्गो बावन’ अर्थात् ठेकराज ओझा देखिदैनन् । मन निकै दुख्दछ ।
दाइ फेरि भन्छु,
‘मानिसैको चौ जुगे नाउँ छै ऋतु ,
मानिस अम्मर काँ छ ।’
दाइ यहाँको नाम युगौँयुग रहने छ । दाइ ठेकराजप्रति सम्मानसहित हार्दिक श्रद्धाञ्जली ! यहाँलाई गौरा माताको आशीर्वाद स्वर्गमा पनि मिलोस् ।
(लेखक भट्ट युवा साहित्यकार हुन ।उनक विभिन्न साहित्यिक कृतिहरु प्रकाशन भएका छन ।उनले डोटेली सहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ । हाल भट्ट विन्ध्यवासिनी मा.वि, दर्ना, अछाममा शिक्षक छ्न । )