
डोटीको शिखर नगरपालिका–७ बैरकोटका कैलाश भुललाई शिखर नगरपालिकाले एमबिबिएस अध्ययनका लागि १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कैलाश हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंमा एमबिबिएस पहिलो वर्षमा अध्ययनरत छन्। उनको अध्ययनलाई थप सहज बनाउन बिहीबार नगर प्रमुख दीर्घ बहादुर बलायरले उनलाई चेक हस्तान्तरण गरे।
कैलाशले एसईई सुजङ्ग स्कूल, राजपुरबाट उत्तीर्ण गरेका हुन् र त्यसपछि कक्षा ११ र १२ काठमाडौंस्थित नासा कलेजबाट पास गरेका थिए। कमजोर आर्थिक अवस्थाका बाबजुद, पूर्व मन्त्री भक्त बहादुर बलायरको सहयोगमा उनले कक्षा ४ देखि १२ सम्म निःशुल्क शिक्षा प्राप्त गरेका थिए।


दलित समुदायमा जन्मिएका कैलाश आफ्नो कडा परिश्रम र प्राप्त सहयोगको कारण एमबिबिएस अध्ययन गर्न पाउँदा अत्यन्तै खुशी छन्। उनले भने, “मेरो जस्तो कमजोर पारिवारिक अवस्था भएका व्यक्तिहरूले एमबिबिएस पढ्ने सपना देख्न समेत सक्दैनन्। तर मेहनत गरेपछि र सहयोग जुट्दा सपना पनि पूरा हुने रहेछ।”
कैलाश पूर्ण छात्रवृत्तिमा पढ्न पाउँछन् तर होस्टल, खाना, खाजा, कपडा, र अन्य अध्ययन सामग्रीका लागि उनलाई आफैंले खर्च जुटाउनुपर्ने हुन्छ। यसै कारण नगरपालिकाले दिएको आर्थिक सहयोगले उनलाई ठूलो राहत भएको छ। नगर प्रमुख बलायरले आगामी वर्षमा पनि सहयोग गर्ने वाचा गरेका छन्।
नगर प्रमुख बलायरका अनुसार, नगरपालिका हरेक वर्ष कमजोर आर्थिक अवस्था भएका जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। “कैलाश मेहनती विद्यार्थी हुन्, उनलाई थप प्रोत्साहन दिन हामीले डेढ लाख रुपैयाँ सहयोग गरेका छौं। आगामी वर्षहरूमा पनि उनलाई सहयोग गर्दै जानेछौं,” बलायरले भने।
शिक्षालाई विशेष प्राथमिकता दिएर काम गरिरहेको शिखर नगरपालिकाले यस किसिमका सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



