
काठमाडौं, २ कात्तिक – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी जारी हुँदा नआत्तिन आग्रह गरेका छन्।

शुक्रबार साँझ लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेलगत्तै बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै, कानूनको पालना गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले लेखेका छन्, “कानूनभन्दा माथि कोही पनि हुँदैन। बिनाआधार र प्रमाण पक्राउ पुर्जी जारी हुँदैन। यदि गल्ती नगरेको हो भने, पक्राउ पुर्जी जारी हुँदा डराउनुपर्दैन।”
लामिछानेलाई प्रहरीले सहकारी ठगी र संगठित अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी), काठमाडौं प्रहरी परिसर र काठमाण्डु उपत्यका अपराध महाशाखाको टोलीले वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा लगेको छ।



