
कैलाली– तिहारको चटारो सुरु भएसँगै कैलालीको सीमा नजिकै रहेको भारतीय बजार बनगावामा नेपालीको भिड अत्यधिक बढेको छ। दैनिक करिब १० हजार भन्दा बढी नेपाली तिहारका सामान खरिद गर्न बनगावा जाने गरेका छन्।

बनगावामा तुलनात्मक रूपमा सस्ता र विभिन्न किसिमका सामान पाइने भएकाले स्थानीयदेखि टाढाका नेपालीहरू पनि यो समयमा त्यहाँ पुग्ने गरेका छन्। तिहारका लागि आवश्यक कपडा, गहना, मिष्ठान्न, पूजा सामग्री र अन्य सजावटी सामानहरू किनमेल गर्न नेपाली उपभोक्ताहरूले बनगावालाई रोज्ने गरेका छन्।

बनगावामा किनमेल गर्न जान सजिलो हुनु र वस्तुहरूको मूल्य पनि सस्तो हुने भएकाले कैलालीसहितका विभिन्न जिल्लाबाट समेत यहाँ आउने गरेको देखिन्छ। विशेषगरी धनगढी, गोदावरी, लम्की, अत्तरिया, कंचनपुर ,डोटी डडेल्धुरालगायतका विभिन्न क्षेत्रका मानिसहरू यहाँबाट तिहारका लागि आवश्यक सामग्रीहरू खरिद गर्न आउँछन्।
नेपाल र भारतबीचको खुला सीमा हुँदा तिहारलगायत पर्वहरूमा सीमा नजिकका भारतीय बजारहरूमा नेपालीहरूको भीड बढेको देखिन्छ । त्यहाँ भेटिने सबैजस्तो नेपाली बजारको तुलनामा दैनिक उपभोग्य बस्तु बनागावामा सस्तो पाइने भएकोले आफुहरु किनमेल गर्ने आएको बताउँछन ।



