
काठमाडौँ – नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले निजी र संस्थागत विद्यालयका शिक्षकहरूको पेशागत सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो।
समारोहमा श्रम चेतना सम्बन्धी कविता वाचन गरिँदा, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले निस्टाको गतिविधिको सराहना गर्दै शिक्षकहरूको हितमा यसले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य डा. तुलसी भट्टराईले निस्टाको सृजनात्मक सक्रियतालाई साहित्यिक विकाससँग जोडेर प्रशंसनीय पहल रहेको धारणा व्यक्त गर्नुभयो।


राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएका विवेक पराजुलीले नगद रु. ५० हजार पुरस्कार जित्नुभएको छ। द्वितीय स्थानमा देवी प्रसाद बरालले रु. ३५ हजार, जबकि तृतीय स्थानमा भीष्मराज काफ्ले र गौरी कँडेलले जनही रु. २० हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुभयो।
कार्यक्रममा डा. कोमल फुँयालले विश्व साहित्यको पृष्ठभूमिमा नेपाली साहित्यमा श्रमचेतना विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो, जसमा डा. तारालाल श्रेष्ठले टिप्पणी गर्नुभयो। “निस्टा आवाजः सृजनामा श्रम” नाराका साथ आयोजित कार्यक्रममा निस्टाका सल्लाहकार संयोजक मुकुन्द गौतम र अनुसन्धान सल्लाहकार डा. दशरथ न्यौपानेलाई सम्मान गरिएको थियो।
केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेले निस्टाले शिक्षक–विद्यार्थी केन्द्रित सृजनात्मक तथा अनुसन्धानमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि थप रचनात्मक गतिविधिहरू आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो। मैथिली भाषा, साहित्य र संस्कृतिमा आधारित श्रमचेतना विषयक प्रदेशस्तरीय कार्यक्रम यसै वर्षको अन्त्यसम्म आयोजना गरिने पनि जानकारी गराइयो।
कार्यक्रममा नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महर, ट्रेड युनियनका विभिन्न प्रतिनिधिहरू, लेखक संघका पदाधिकारीहरू, र विभिन्न शिक्षाविद्को उल्लेखनीय उपस्थिति रहेको थियो।



