
डोटी ।अछामको मङ्गलसेन कालागाउँ निवासी अन्दाजी ६५ वर्षीय चन्द्र आउजीलाई डोटीको दिपायल सिलगढीबाट उद्धार गरी कैलालीस्थित सहारा घरमा सुरक्षित राखिएको छ। विगत ८–९ वर्षदेखि विभिन्न जिल्लाका सडकमा जीवन बिताइरहेका आउजीलाई सहारा दिने उद्देश्यले स्थानीय प्रशासन र संस्थाहरूको पहलमा उद्धार गरिएको हो।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलका पत्रकार प्रकाश बमले आउजीको अवस्थाको एउटा भिडियो सार्वजनिक गरेपछि उद्धारको प्रक्रिया तीव्र भएको थियो। आउजीलाई दिपायल सिलगढी नगरपालिकाको बोलेरो जिपमार्फत सहारा घर पुर्याइएको हो। नगर प्रमुख बाजि सिंह खड्काले यस्ता असहाय मानवहरूको उद्धारमा स्थानीय सरकारको निरन्तर प्रयास रहेको बताउँदै भविष्यमा पनि यस्तै मानवीय सेवाका लागि सबैको साथ आवश्यक रहेको उल्लेख गरे।


नगर उपप्रमुख कलावती महर साउँदले आउजीको उद्धार गर्न पाउँदा खुसी व्यक्त गर्दै, “धर्म कमाउन टाढा जानुपर्दैन, यस्ता सेवामूलक कार्यमै धर्म निहित छ,” भनिन्।
साहारा आश्रमका सञ्चालक बलबहादुर विष्टका अनुसार आश्रमले २०७२ सालदेखि बेसहारा मानिसहरूको उद्धार, संरक्षण, उपचार, र परिवारसँग पुनर्मिलन गराउँदै आएको छ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले परिवारबाट टाढा परेका, असहाय तथा सडक आश्रित मानवहरूको उद्धार र व्यवस्थापनमा सामूहिक प्रयासको आवश्यकता रहेको बताए।
यस उद्धार कार्यले मानवताको उदाहरण प्रस्तुत गर्दै, समाजमा यस्ता मानवीय सेवाहरूको महत्त्वलाई पुनः स्थापित गरेको छ।



