
डोटी – शिखर नगरपालिकाका ११ वडाका ३२ जना आरन व्यवसायीलाई आधुनिक उपकरण र औजार वितरण गरिएको छ। मुक्त हलिया/दलित समुदायको सामाजिक, आर्थिक सशक्तीकरण र जलवायु न्याय प्रवर्द्धनका लागि सञ्चालन गरिएको “सक्षम परियोजना” अन्तर्गत यो कार्यक्रम सम्पन्न भएको हो।
इभान्जेलिकल लुथरन चर्च इन अमेरिका (इ.इल.सि.ए.) को आर्थिक सहयोगमा लुथरन वर्ल्ड फेडरेसन (एल.डब्लू.एफ.) नेपाल र सामुदायिक विकास केन्द्र (सि.डि.सि.) डोटीको साझेदारीमा उपकरण हस्तान्तरण गरिएको हो। आरन व्यवसायीलाई आरन पंखा, घन, हटौडा, खाग्सी, स्वाग, पित्तल पाता, ग्लिन्डर मेशिन, फलाम काट्ने उपकरण, वेल्डिङ मेशिन लगायत करिब ३० हजार रुपैयाँभन्दा बढीका सामग्री प्रति व्यक्ति प्रदान गरिएको छ।


कार्यक्रममा शिखर नगरपालिकाका प्रमुख दीर्घ बहादुर बलायर, उपप्रमुख सुनिता रावल, वडा अध्यक्षहरू धिर्क बहादुर सिंह र गणेश बोगटी, शिखर नगरपालिका स्तरीय मुक्त हलिया सञ्जालका अध्यक्ष राम बहादुर दमाई, र सि.डि.सि. डोटीका कार्यकारी निर्देशक हेमराज जोशीको उपस्थिति रहेको थियो।
नगर प्रमुख बलायरले संस्थालाई धन्यवाद दिँदै पालिका उद्यमीहरूको सशक्तीकरणमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। नगर उपप्रमुख रावलले वितरण गरिएको सामग्रीको सदुपयोग गर्दै व्यवसाय विस्तार गर्न आग्रह गरिन्।
परियोजनाले शिखर नगरपालिकाका ७ जना मुक्त हलिया बालबालिकालाई प्राविधिक शिक्षा उपलब्ध गराउनुका साथै उद्यमशीलता विकास र आयआर्जनमा सहयोग गरेको छ।
आधुनिक उपकरण पाउँदा व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्। उनीहरूले यो सहयोगले व्यवसाय सञ्चालनलाई थप सरल र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।



