डोटी। के.आई. सिंह गाउँपालिका–६ र ७ को सिमाना बेलालडाँडा जंगलस्थित खर्शुखोलामा अज्ञात महिलाको शव फेला परेको छ। शवको पहिचान खुल्न नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीले मृतकका नातेदारलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

महिलाले हरियो ब्लाउज, रातो चेक बुट्टाको सर्ट, रातो सेतो पहिलो बुट्टा भएको र किनारामा हरियो रंगको धोती र रातो पेटीकोट लगाएको अवस्थामा शव भेटिएको थियो। घाँटीमा हरियो पोते र रातो पोते रहेको छ।

शवसँगै प्लास्टिकको मुख बाँधिएको कट्टा भेटिएको छ, जसमा खरानी रंगको कम्बल, रातो पेटीकोट, कलेजि रंगको स्विटर, हरियो पहेँलो चम्किने बुट्टाको ब्लाउज, रातो किनारामा पहिलो बुट्टा भएको धोती, कलेजिमा निलो बुट्टा भएको धोती, सेतो कागियो र हरियो रंगको “Dew” लेखिएको सानो प्लास्टिकको बोतलमा तेल रहेको प्रहरीले जनाएको छ।
मृतकको शव सडेको अवस्थामा भेटिएको र अहिले जिल्ला अस्पताल डोटीको शवगृहमा राखिएको छ। शवको पहिचानका लागि मृतकका परिवार वा नातेदारले नजिकको प्रहरी कार्यालयमा तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ। घटना बारे थप अनुसन्धान भइरहेको छ।



