
काठमाडौँ। दुबईका लागि १४९ यात्रु बोकेर काठमाडौँबाट उडेको नेपाल वायुसेवा निगमको ‘सगरमाथा’ न्यरोबडी जहाज भैरहवामा खराबी आएपछि ग्राउन्डेड भएको छ।
छ दिनअघि चीनमा ६ करोड ६८ लाख रुपैयाँ खर्चेर ‘फाइभ–सी–चेक’ (ठूलो मर्मत) गराएर ल्याइएको उक्त जहाज बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा हुँदै दुबई जाने तालिका अनुसार उडान भरेको थियो।


राति १०:३० बजे काठमाडौँबाट उडेको जहाज भैरहवामा ११:१५ बजे अवतरण गरेको थियो। त्यहाँबाट थप यात्रु लिएर दुबई जाने योजना थियो। तर, जहाजमा इन्जिनको गति तीव्र हुने समस्या (ओभर स्पिड प्रोटेक्सन) देखिएपछि चालकदल र इन्जिनियरहरूले राति १:०० बजे जहाज ग्राउन्डेड गर्ने निर्णय गरे।
भैरहवामा निगमका केवल दुई जना कर्मचारी मात्र भएकाले अध्यागमन र विमानस्थलका घर फर्किसकेका कर्मचारीलाई बोलाएर यात्रु व्यवस्थापन गरिएको थियो। यात्रुहरूलाई बिहान ४:०० बजेसम्म स्थानीय होटलमा पठाइएको निगम स्रोतले जानकारी दिएको छ।
निगमका एक निर्देशकका अनुसार जहाज काठमाडौँबाट उड्नु अघि नै फ्युल मिटर परिवर्तनका कारण करिब दुई घण्टा ढिलो भएको थियो। ‘निगमका कार्यकारी अध्यक्ष उपचारका लागि दिल्लीमा हुनुहुन्छ, तर मर्मतसम्बन्धी विषयमा उहाँसँग समन्वय भइरहेको छ,’ ती निर्देशकले भने।
उनका अनुसार अध्यक्षको निर्देशनमा काठमाडौँबाट इन्जिनियर पठाएर मर्मत कार्य भइरहेको छ र बिग्रिएको जहाजलाई आजै दुबई पठाउने तयारी छ।



