
डोटी – डोटीको जोरायल गाउँपालिकाका ६ वटै वडामा ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस विविध सांस्कृतिक तथा चेतनामूलक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। “सबै महिला तथा बालिकाको लागि अधिकार समानता र सशक्तीकरण ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा महिलाका अधिकार, लैंगिक समानता, हिंसाविरुद्धको चेतना अभिवृद्धि र महिला सशक्तीकरणमा विशेष जोड दिइयो।
दिवस अन्तर्गत वडा नं. ३ रावतकट्टेमा चम्चा दौड, वक्तृत्वकला र डेउडा प्रतियोगिता सम्पन्न भयो। सो कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले महिलाको हक, अधिकार र सामाजिक न्यायको प्रत्याभूति गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “महिला सशक्तीकरण कुनै एउटा संस्थाको मात्र जिम्मेवारी होइन, समाजका सबै तह र तप्काबाट सहयोग र समर्थन आवश्यक छ। महिलामाथि हुने हिंसा र विभेद अन्त्य गर्न समुदायको सक्रिय सहभागिता अनिवार्य छ।”

त्यस्तै कार्यक्रममा वडा अध्यक्ष नवीन ओझाले महिलाहरू समाजको मूल आधार भएको उल्लेख गर्दै भने, “जब महिलाहरू शिक्षित, सक्षम र आत्मनिर्भर बन्छन्, तब मात्र समाजको समग्र विकास सम्भव छ। महिला हिंसा र विभेदमुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी हो। गाउँपालिकाले महिलाको आर्थिक, सामाजिक र शैक्षिक सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकता दिएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।”

वडा नं. ४ कुँडिकोटमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सहभागीहरूले महिला हिंसा, शिक्षा, स्वास्थ्य र आर्थिक सशक्तीकरणमा महिलाको पहुँचका विषयमा धारणा राखे। त्यसैगरी वडा नं. ६ निरौलिमा हाजिरीजवाफ र सांस्कृतिक कार्यक्रम सम्पन्न भयो, जसमा स्थानीय समुदायको उत्साहजनक सहभागिता रह्यो। कार्यक्रमले महिला अधिकारका सवालमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताए।
वडा नं. १ मणिपुरमा सचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको थियो। सडक नाटकले समाजमा विद्यमान महिला हिंसा, विभेद र लैंगिक असमानताको यथार्थलाई उजागर गर्दै समाधानका उपायहरूमाथि प्रकाश पार्यो। वडा नं. २ बुडरमा हाजिरीजवाफ, रमाइला खेलकुद र सांस्कृतिक कार्यक्रम सम्पन्न भयो। सो अवसरमा बोल्दै वडा अध्यक्ष वीर बहादुर दर्लामीले महिला हिंसा न्यूनीकरणका लागि कानुनी प्रावधानमात्र पर्याप्त नभएको उल्लेख गर्दै भने, “समाजको मानसिकता परिवर्तन नगरी हिंसाविरुद्धको अभियान सफल हुँदैन। महिला अधिकार संरक्षणमा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्छ।”
वडा नं. ५ गड्सेरामा सचेतनामूलक डेउडा कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा महिला हिंसाविरुद्ध कानुनी चेतना, महिलाका अधिकार र समानताको विषयमा सन्देश दिइयो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सोचको विकास गर्न मद्दत पुग्ने धारणा व्यक्त गरे।
सबै वडामा आयोजित कार्यक्रमहरूमा स्थानीय महिला, जनप्रतिनिधि, विद्यार्थी, सामाजिक अभियन्तालगायतको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले महिलाको अधिकार संरक्षण र लैंगिक विभेद अन्त्य गर्न यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताए।
गाउँपालिकाले महिला सशक्तीकरणका कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। वडा अध्यक्षहरू र प्रमुख अतिथिहरूले महिलाको सामाजिक, आर्थिक र कानुनी अधिकारको सुनिश्चितता गर्दै हिंसामुक्त समाज निर्माणका लागि सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।



