
डोटी – जोरायल गाउँपालिकाद्वारा आयोजित स्थानीय सरकार सञ्चालन प्रक्रिया, सकारात्मक सोच र रूपान्तरण प्रक्रिया सम्बन्धी दुई दिने कार्यशाला शनिबार सम्पन्न भएको छ। कार्यशालामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, वडाका सचिवहरू, विषयगत शाखाका प्रमुख, माध्यमिक विद्यालयका प्रधानाध्यापक, प्रहरी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यशालाको मुख्य सहजीकरण पूर्व प्रमुख सूचना आयुक्त एवं नेपाल सरकारका पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटाले गर्नुभएको थियो। बाँस्कोटाले स्थानीय सरकार सञ्चालनको प्रभावकारिता, सुशासन, पारदर्शिता र जनउत्तरदायी सेवाको प्रवर्धन सम्बन्धमा प्रशिक्षण दिनुभयो। उहाँले नीति निर्माणदेखि कार्यान्वयनसम्मका प्रक्रिया स्पष्ट पार्दै स्थानीय तहलाई अझै प्रभावकारी बनाउने उपायहरू प्रस्तुत गर्नुभयो। साथै, सकारात्मक सोचको विकास, स्थानीय तह सञ्चालनका लागि आवश्यक पर्ने सीप, नीति निर्माणका चरणहरू र त्यसक्रममा आउने कठिनाइहरूबारे विस्तृत जानकारी दिनुभयो।


त्यस्तै, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले सहजीकरण गर्दै स्थानीय सरकारको भूमिकालाई अझ दरिलो बनाउनुपर्ने आवश्यकता, नवप्रवर्तनशील योजना तथा नीति निर्माणको वैज्ञानिक पद्धति बारे प्रशिक्षण दिनुभयो। उहाँले स्थानीय तहले नागरिकको जीवनस्तर उकास्न शिक्षादेखि पूर्वाधार विकाससम्म प्राथमिकताका क्षेत्र पहिचान गरी योजनाबद्ध कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, स्थानीय तह सञ्चालनमा देखिने व्यवहारिक समस्याहरू, तिनको समाधानका उपायहरू तथा सफल नीति कार्यान्वयनका लागि आवश्यक रणनीतिहरूबारे जानकारी गराउनुभयो।
समापन सत्रमा जोरायल गाउँपालिका-२ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति सभापति वीर बहादुर दर्लामीले कार्यशालाले स्थानीय सरकार सञ्चालनका लागि महत्वपूर्ण ज्ञान प्रदान गरेको बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यशालाले नीति निर्माण, सेवा प्रवाह र समस्या समाधानका लागि नयाँ दृष्टिकोण दिन्छन्। “हामीले सिकेका सीप र ज्ञानलाई व्यवहारमा लागू गरेर आफ्नो जिम्मेवारीलाई अझ प्रभावकारी बनाउनेछौं। जनसहभागिता, पारदर्शिता र सुशासनलाई केन्द्रमा राख्दै काम गर्ने प्रतिवद्धता लिएका छौं,” दर्लामीले भन्नुभयो।
गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले कार्यशालाले स्थानीय सरकारको नीति, योजना र सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले स्थानीय सरकार सञ्चालनमा आउने चुनौतीहरू समाधान गर्न यस्ता प्रशिक्षण आवश्यक रहेको भन्दै स्थानीय तहलाई प्रविधिमैत्री, उत्तरदायी र जनमुखी बनाउन सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो। “स्थानीय सरकारलाई अझ सक्षम र परिणाममुखी बनाउन नीति निर्माणदेखि सेवा प्रवाहसम्म वैज्ञानिक पद्धति अपनाउनुपर्छ। यस कार्यशालाले हामीलाई व्यावहारिक ज्ञान दिएको छ, अब सिकाइलाई व्यवहारमा उतार्नेछौं,” अध्यक्ष ओझाले भन्नुभयो।
कार्यशालाले स्थानीय सरकार सञ्चालन, नेतृत्व विकास, समावेशीकरण तथा स्थानीय तहको समृद्धि र विकासका लागि मार्गदर्शक बन्ने विश्वास गरिएको छ। सहभागिहरूले सिकेका सीप तथा ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन ।



