
डोटी – जोरायल गाउँपालिका, डोटीले आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सफलतापूर्वक सम्पन्न गरेको छ। वडा नं. ४ को प्राङ्गणमा आयोजित कार्यक्रममा सेवा प्रवाह, बजेट उपयोग, विकास निर्माण लगायतका विषयमा प्रत्यक्ष छलफल गरिएको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


विभिन्न शाखा प्रमुखहरूले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेपछि कर्मचारी ,जनप्रतिनिधि तथा सेवाग्राहीबीच खुला संवाद भएको थियो। जनताले उठाएका जिज्ञासाहरूको सम्बन्धित निकायबाट स्पष्ट जवाफ दिइयो।
स्थानीयको प्रश्नको जवाफ दिँदै अध्यक्ष दुर्गादत्त ओझाले भने, “जनताको आवश्यकता र अपेक्षाअनुसार सेवा दिन हामी निरन्तर क्रियाशील छौं। सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमले जनतासँग प्रत्यक्ष संवादको माध्यम बनाइदिन्छ, जसले पारदर्शिता, जवाफदेहिता र विश्वसनीयता कायम गर्न सहयोग गर्छ।”
कार्यक्रममा स्थानीय बासिन्दाहरूले विकास निर्माणको प्राथमिकता, स्वास्थ्य, शिक्षा, कृषि सेवा, खानेपानी, तथा सामाजिक सुरक्षाका कार्यक्रमहरूबारे जिज्ञासा राखेका थिए। सहभागीहरूले यस्ता सुनुवाइ कार्यक्रमले प्रशासनलाई अझ उत्तरदायी बनाउन सहयोग पुर्याउने धारणा व्यक्त गरेका थिए।
गाउँपालिकाले सार्वजनिक सुनुवाइलाई एक प्रभावकारी सहभागिता र मूल्यांकनको माध्यमको रूपमा लिँदै आएको छ। नियमित र समावेशी ढंगले यस्ता कार्यक्रम सञ्चालन गर्दै जनताको सशक्त आवाज नीति निर्माणमा प्रतिबिम्बित गरिने अध्यक्ष ओझाले स्पष्ट पारे। कार्यक्रमको सहजीकरण सुदूरखबर मिडियाको तर्फबाट पत्रकार रामहरि ओझाले गरेका थिए ।



