
धनगढी – नेपालको संविधानले स्थानीय तहलाई स्वशासित निकायको रूपमा परिकल्पना गरे पनि त्यहाँ कार्यरत कर्मचारीहरूका समस्या अझै समाधान हुन नसकेको भन्दै स्थानीय तह कर्मचारी संघर्ष समितिले चरणबद्ध आन्दोलन घोषणा गरेको छ।

संघर्ष समितिको प्रदेश समिति, सुदूरपश्चिम प्रदेश, धनगढीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, संघीय निजामती सेवाजस्तै स्थायित्व, पेशागत सुरक्षा, सुविधा र पदोन्नतिका अवसर नपाएको गुनासो गर्दै कर्मचारीहरू आन्दोलित भएका हुन्। विज्ञप्तिमा संविधानअनुसारको समान सेवा संरचना र सेवा प्रवाहलाई प्रभावकारी बनाउन माग गरिएको छ।

विज्ञप्तिका अनुसार वैशाख २७ गतेदेखि सम्पूर्ण पालिकामा अत्यावश्यकबाहेकका सेवाहरू ठप्प पारिनेछ भने वैशाख २८ गतेबाट सम्पूर्ण सेवा बन्द गर्दै सम्पूर्ण कर्मचारीहरू आन्दोलनमा सहभागी हुनेछन्। साथै, वैशाख २९ गते धनगढीमा केन्द्रिय आन्दोलन हुने जनाइएको छ, जसमा सम्पूर्ण कर्मचारी अनिवार्य रूपमा सहभागी भइ बिहान ९ बजे मुख्यमन्त्री तथा मन्त्रालय कार्यालय अगाडि उपस्थित हुनेछन्।
संघर्ष समितिका संयोजक शीलबहादुर चौधरीले हस्ताक्षरित विज्ञप्तिमा पालिकामा रहेका कर्मचारीलाई पनि कामकाज ठप्प गर्न आह्वान गरिएको छ।



