
डोटी, असार २ –दिपायल सिलगढी नगरपालिका–४, पिपल्लामा नगरपालिकाको आयोजना र नगर प्रमुख विजय खड्काको प्रमुख आतिथ्यतामा मध्यम खाले ड्राइभिङ सम्बन्धी १५ दिने सिप विकास तालिम सुरु गरिएको छ।
“सिप सिकौँ, स्वरोजगार बनौं, समृद्ध नेपालको विकास गरौं” भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघु विकास कार्यक्रम अन्तर्गत सुरु गरिएको उक्त तालिममा नगर क्षेत्रका १० जना युवाको सहभागिता रहेको छ।


उद्घाटन समारोहमा नगर प्रमुख विजय खड्काले युवालाई लक्षित गरी सञ्चालित सिप विकास तालिमहरूले आत्मनिर्भरता र स्वरोजगारको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञानले रोजगारीको अवसर सिर्जना गर्दै युवालाई आत्मनिर्भर बनाउने बताउनुभयो।
दिपायल सिलगढी नगरपालिकाका लघु उद्यम विकास कार्यक्रम शाखाका अधिकृत राजबहादुर खड्काले नगरपालिकाले निरन्तररूपमा विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। “सीप सिकेर आत्मनिर्भर बन्ने अभियानमा नगरपालिका सक्रिय रहेको छ, सबैले अवसरको सदुपयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो।
तालिमको प्रशिक्षक तथा तुलसी ड्राइभिङ सेन्टर पिपल्लाका सञ्चालक लालबहादुर कठायतका अनुसार, मध्यम खालको यो तालिम असार १५ गतेसम्म सञ्चालन हुनेछ। तालिममा यातायात सुरक्षादेखि ट्राफिक नियम, ड्राइभिङ व्यवहार, इन्जिन सञ्चालनजस्ता व्यवहारिक विषयमा प्रशिक्षण दिइनेछ।



