
हेमन्त जोशी कैलाली -गौरीगंगा नगरपालिका–१, चौमालास्थित ऐतिहासिक मोहन्याल मन्दिर परिसरमा नक्षत्र बाटिका निर्माण कार्य सम्पन्न भएको छ। प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईमार्फत २७ लाख रुपैयाँको लागतमा उक्त बाटिका निर्माण गरिएको हो।

मन्दिर उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको निर्माण कार्य अन्तर्गत नक्षत्र बाटिकामा राशि अनुसारका २७ जातका बिरुवा रोपिएको निर्माण समिति सदस्य प्रकाश गुरुङले जानकारी दिनुभयो। साथै, बाटिकामा विद्युत् बत्ती जडान तथा रंगरोगनको कार्य समेत पूरा गरिएको उहाँले बताउनुभयो।

पूर्वीय दर्शनअनुसार ग्रह र नक्षत्रको सन्तुलन प्रकृतिमा आधारित हुने मान्यता अनुसार, १२ राशि, ९ ग्रह र २७ नक्षत्रहरूलाई मध्यनजर गर्दै अमला, जामुन, पिपल, वर, बेल, निम, खयर, कुश, दुबो, गुल्लर, कटहर लगायतका २७ प्रकारका बिरुवाहरू रोपिएको मोहन्याल मन्दिरका पुजारी तोयानाथ जोशीले जानकारी दिनुभयो।
स्थानीयस्तरमा पर्यटन प्रवर्द्धनका साथै धार्मिक वातावरणलाई अझ समृद्ध बनाउने उद्देश्यले सो बाटिका निर्माण गरिएको जनाइएको छ।



