
दैलेख – दैलेख जिल्लाकी १८ वर्षीया तारा बडुवाललाई सबैले ‘बडिमालिका माता’ भनेर आदरपूर्वक सम्बोधन गर्ने गर्छन्। सात वर्षको उमेरमै उहाँलाई बडिमालिकाको शक्ति प्राप्त भएको विश्वास गरिन्छ। यही शक्ति र आशीर्वादका कारण उहाँ भविष्यवाणी गर्न सक्ने अद्वितीय क्षमता राख्नुहुन्छ। गाउँघरमा मात्र नभई वरिपरिका जिल्लामा समेत उहाँको नाम श्रद्धापूर्वक लिने गरिएको छ।
आठबिस नगरपालिका–५, तिलेपाटामा जन्मनु भएकी तारा हाल श्री त्रिभुवन माध्यमिक विद्यालय, नारायण नगरपालिका–१, दैलेखमा कक्षा ११ मा अध्ययनरत छिन्। उहाँले लेखा विषय रोज्नुको कारण भविष्यमा समाजसेवामा सक्रिय भएर सामाजिक र आर्थिक दुवै क्षेत्रमा योगदान पुर्याउने लक्ष्य हो।

चार बहिनी र एक भाइमध्ये जेठी छोरीको रूपमा जिम्मेवारी र अनुशासनको उदाहरण प्रस्तुत गर्दै आएकी उहाँको परिवार सामाजिक र धार्मिक क्रियाकलापमा समेत सक्रिय छ। आमा महिला स्वयंसेवीका र बुबा किसान हुनुहुन्छ। दुवैको प्रेरणा र समर्थनका कारण उहाँ आफ्नो अध्ययन र धार्मिक यात्रामा निरन्तर अघि बढिरहनुभएको छ।
तारा बडुवालको सरल स्वभाव, धार्मिक आस्था र सेवाभावका कारण उहाँ स्थानीय समुदायमा मात्र नभई बाहिरी क्षेत्रका भक्तजनमाझ पनि प्रेरणादायी व्यक्तित्वको रूपमा स्थापित हुनुभएको छ।
(उहाँ संगको यो भेट हाम्रो बडिमालिका यात्रामा भएको थियो ।)


