
डोटीको जोरायल गाउँपालिकाको गाउँसभाको १८ औं अधिवेशन (हिउँदे अधिवेशन) शनिबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष जमुना बोहरा, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति थियो।
गाउँसभामा चालू आर्थिक वर्ष २०८१/०८२ का योजनाहरूको प्रगति समीक्षा गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गरिएको गाउँपालिकाका प्रवक्ता नन्दराज भट्टले जानकारी दिए ।उनका अनुसार अधिवेशनले हालसम्म भएका कार्यपालिका बैठकका निर्णयहरू अनुमोदन गर्नुका साथै स्वीकृत योजनाहरूमा आवश्यक संशोधन र बजेट व्यवस्थापनका निर्णयहरू गरेको छ । त्यस्तै सभाले चालू आर्थिक वर्षमा भएका खर्च विवरण अनुमोदन गर्दै, आर्थिक पारदर्शिता र बजेटको सही व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

अधिवेशनमा अध्यक्ष दुर्गादत्त ओझाले विकास योजना र सेवामूलक कार्यहरूको प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिकाको प्रतिबद्धता व्यक्त गरेका थिए। उनले गाउँसभाको निर्णयले पालिकाको विकासलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै सामुदायिक सहभागिताको महत्त्वमा जोड दिए।
उपाध्यक्ष जमुना बोहराले योजनाहरूको सफल कार्यान्वयनका लागि सहकार्य र पारदर्शिताको आवश्यकता रहेको बताउँदै गाउँपालिकाले तय गरेका योजनाहरूले स्थानीय जनतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।
गाउँसभामा स्थानीय विकासका प्राथमिकताबारे छलफल गर्दै आर्थिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशिका तयार गर्ने, सेवाहरूलाई सहज बनाउने, र आगामी योजना व्यवस्थित रूपमा अघि बढाउने विषयमा छलफल र सर्वसहमती भएको छ।


