
हेमन्त जोशी ,कैलाली ।कैलालीको गोदावरी नगरपालिका–७ जमुनानगरस्थित श्री दुर्गा भवानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला वितरण गरिएको छ।
रोजगारीको सिलसिलामा मकाउमा बस्दै आउनुभएकी बिना अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयका ५५ जना विद्यार्थीलाई झोला सहयोग गर्नुभएको हो। उक्त सहयोग हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त बाजे तथा कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवरको रोहवरमा वितरण गरिएको थियो।

अधिकारीले जन्मदिनमा भोजभतेर गरी अनावश्यक खर्च गर्नुभन्दा विद्यार्थीहरूलाई पढाइप्रति प्रेरित गर्ने उद्देश्यले झोला प्रदान गरिएको बताउनुभएको छ। रोजगारीका कारण विदेशमा रहँदै आए पनि विद्यालयमा अध्ययनरत गरिब, विपन्न, जेहेन्दार तथा अनाथ बालबालिकालाई सहयोग गर्दै जन्मदिन मनाउन पाउँदा आफू अत्यन्त खुशी भएको उहाँले जनाउनुभएको छ।
आगामी दिनहरूमा पनि विद्यार्थी भाइबहिनीहरूको शिक्षामा सहयोग पुर्याउने गरी शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त बाजेले जानकारी दिनुभयो।
झोला वितरण कार्यक्रममा समाजसेवी तथा युवा नेता लोक राज पाण्डे (आगो), विद्यालय व्यवस्थापन समिति अध्यक्ष दानबहादुर बोगटी, कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवर, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरूलाई पढाइप्रति प्रोत्साहन गर्ने उद्देश्यले जन्मदिनजस्तो व्यक्तिगत अवसरलाई सामाजिक सेवासँग जोडेर गरिएको सहयोग अत्यन्त सराहनीय रहेको बताउँदै सहयोगीप्रति आभार व्यक्त गरेका थिए।



