
डोटी — जोरायल गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LGPAS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि आयोजित उक्त कार्यक्रम चैत २ र ३ गते सञ्चालन गरिएको हो।

कार्यक्रममा स्थानीय तहको कार्यसम्पादन सुधार, सेवा प्रवाहको गुणस्तर वृद्धि तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले LGPAS को अवधारणा, सूचक तथा मूल्याङ्कन प्रक्रियाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई कार्यसम्पादन मापनका आधारहरू, मूल्याङ्कनका मापदण्ड तथा सुधारका उपायहरूबारे प्रशिक्षण दिइएको थियो।
जोरायल गाउँपालिका सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तह मध्ये गाउँपालिकातर्फ दोस्रो स्थान हासिल गर्न सफल भएको सन्दर्भमा यस प्रकारका अभिमुखीकरण कार्यक्रमले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले यस्ता कार्यक्रमले संस्थागत क्षमता अभिवृद्धि गर्न र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्।



