जोरायल गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत स्वीकृत

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

डोटी, जेठ ७ — जोरायल गाउँपालिका डोटीको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम गाउँसभाको २२औँ अधिवेशनको दोस्रो बैठकबाट बिहीबार सर्वसम्मत रूपमा स्वीकृत भएको छ।

गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि सदस्यहरूले उठाएका जिज्ञासा तथा सुझावहरूको जवाफ दिँदै आगामी वर्षको नीति, कार्यक्रम र योजनालाई “समृद्ध गाउँपालिका, सुखी नागरिक” को दीर्घकालीन लक्ष्यसँग जोडिएको बताउनुभयो।

पोषण खाजा सम्बन्धि सन्देश

अध्यक्ष ओझाले आर्थिक शिथिलता, युवाको वैदेशिक पलायन, बढ्दो बसाइँसराइ तथा बाँझिँदै गएको खेतीयोग्य जमिन अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्दै उत्पादनमुखी अर्थतन्त्र, स्थानीय रोजगारी सिर्जना र प्रविधिमैत्री सुशासनमार्फत गाउँपालिकालाई आत्मनिर्भर बनाउने दिशामा नीति तथा कार्यक्रम केन्द्रित रहेको बताउनुभयो।

नीति तथा कार्यक्रममा कृषि, पशुपन्छी, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, युवा तथा खेलकुद, सामाजिक समावेशीकरण, सूचना प्रविधि र सुशासनलाई प्राथमिकतामा राखिएको छ। कृषि क्षेत्रतर्फ “अध्यक्ष विशेष कृषि तथा पशुपन्छी विकास कार्यक्रम” सञ्चालन गरी उत्पादन वृद्धि, बजारीकरण, किसान प्रोत्साहन तथा जैविक खेतीलाई प्रवर्द्धन गर्ने नीति लिइएको छ। बाँझो जमिन उपयोग, करार खेती, बासमती चामलको प्रवर्द्धन, कृषि एम्बुलेन्स सेवा तथा व्यावसायिक पशुपालन कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ।

पर्यटन विकासतर्फ जोरायल महोत्सव, होमस्टे प्रवर्द्धन, छतिवन ताल, छहरा झरना, रानी गुफा लगायत पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रचारप्रसार गर्ने योजना अघि सारिएको छ। साथै स्थानीय कला, संस्कृति, मारुनी, पैसेरी नाँच, पञ्चेबाजा तथा मौलिक संस्कृतिको संरक्षणलाई पर्यटनसँग जोड्ने नीति लिइएको छ।

स्वास्थ्य क्षेत्रतर्फ निःशुल्क आधारभूत स्वास्थ्य सेवा, ९८ प्रकारका औषधिको नियमित उपलब्धता, २४सै घण्टा एम्बुलेन्स सेवा, गर्भवती तथा सुत्केरी महिलालाई एम्बुलेन्समा ५० प्रतिशत छुट, मानसिक स्वास्थ्य परामर्श तथा पोषणमैत्री पालिका निर्माण कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।
शिक्षा क्षेत्रतर्फ शैक्षिक गुणस्तर सुधार, ICT तथा विज्ञान प्रयोगशाला विस्तार, ई–हाजिरी प्रणाली, छात्राका लागि स्यानिटरी प्याड व्यवस्थापन, “एक वडा एक आवासीय विद्यालय” अवधारणा र स्थानीय पाठ्यक्रम कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ।

जिल्ला वन डोटी

युवा तथा खेलकुद विकासअन्तर्गत राष्ट्रपति रनिङ शिल्ड, अध्यक्ष कप भलिबल, “Jorayal Idol” लगायत प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने तथा “एक वडा एक खेल मैदान” नीति लागू गरिने जनाइएको छ।

खानेपानी तथा सरसफाइतर्फ “एक घर एक धारा” अभियानलाई निरन्तरता दिँदै सुरक्षित खानेपानी, स्रोत संरक्षण तथा WASH कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने नीति लिइएको छ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणअन्तर्गत महिला, बालबालिका, किशोरी, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदाय लक्षित आयआर्जन, सीप विकास र सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। बालमैत्री वडा घोषणा अभियान, लागू औषध नियन्त्रण, साइबर अपराधविरुद्ध सचेतना तथा छाउपडी अन्त्य अभियानलाई पनि प्राथमिकतामा राखिएको छ।

पूर्वाधार विकासतर्फ वडा केन्द्रदेखि टोल बस्तीसम्म सडक सञ्जाल विस्तार, सुरक्षित तथा भूकम्प प्रतिरोधी भवन निर्माण, सिंचाइ विस्तार, झोलुङ्गे पुल निर्माण तथा “उज्यालो गाउँपालिका” अभियानलाई निरन्तरता दिइने नीति ल्याइएको छ।

सूचना तथा सञ्चार प्रविधितर्फ गाउँपालिकामा उच्च गतिको इन्टरनेट सेवा विस्तार, वेबसाइट तथा मोबाइल एपको प्रभावकारी प्रयोग, 4G नेटवर्क विस्तार तथा साइबर सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

राजश्व तथा सुशासनतर्फ अनलाइन राजश्व प्रणालीलाई थप प्रभावकारी बनाउने, घुम्ती शिविरमार्फत सेवा प्रवाह विस्तार गर्ने, बजार क्षेत्रमा सिसिटिभी जडान गर्ने तथा नागरिक सहभागिता नीतिलाई कार्यान्वयनमा ल्याउने योजना नीति तथा कार्यक्रममा समेटिएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत कृषि, उत्पादन, रोजगारी, सामाजिक विकास, पूर्वाधार तथा सुशासनलाई सन्तुलित रूपमा अघि बढाउँदै स्थानीय विकासलाई थप गति दिने लक्ष्य लिएको जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.