
डोटी, असार २२ – डोटीको जोरायल गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न गरेको छ। गाउँपालिकाभित्रका लक्षित बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै आवश्यक खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो।
गाउँपालिका अध्यक्ष दुर्गा दत्त ओझाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जमुना बोहरा,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट , स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाइजर निरीक्षक कपिलदेव जोशी, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द बिष्ट, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, खोप कार्यकर्ता तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दुर्गा दत्त ओझाले पूर्ण खोप सुनिश्चितता घोषणा गाउँपालिकाको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसको दिगोपनाका लागि सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको बताए। उनले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्वास्थ्यकर्मी, खोप कार्यकर्ता, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधिहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताए।

स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाइजर निरीक्षक कपिलदेव जोशीले पूर्ण खोप सुनिश्चितता केवल घोषणा गर्ने विषय मात्र नभई आगामी दिनमा पनि प्रत्येक बालबालिकालाई समयमै खोप सेवा उपलब्ध गराउँदै यसको दिगोपना कायम राख्नु महत्वपूर्ण चुनौती भएको बताए। उनले स्वास्थ्यकर्मी र समुदायस्तरमा कार्यरत स्वयंसेविकाहरूको सक्रिय सहभागिताले खोप कार्यक्रमलाई सफल बनाएको उल्लेख गरे।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोविन्द बिष्टले गाउँपालिकाको खोप कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्दै पूर्ण खोप सुनिश्चितता हासिल गर्न वडा तहदेखि समुदायस्तरसम्मको समन्वय, नियमित अनुगमन तथा स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूको अथक मेहनत मुख्य आधार रहेको बताए।
यस अवसरमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियानलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएका गाउँपालिकाका ६ वटै वडाका उत्कृष्ट सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो। साथै खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा उत्कृष्ट कार्यसम्पादनका लागि ६ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले स्वस्थ, सुरक्षित र समृद्ध समाज निर्माणका लागि नियमित खोप सेवाको पहुँच, गुणस्तर र दिगोपनामा सबै पक्षको साझा जिम्मेवारी रहने धारणा व्यक्त गरेका थिए।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, खोप कार्यकर्ता, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूप्रति गाउँपालिकाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।



