
डोटी । जोरायल गाउँपालिकामा नवनिर्मित खेलकुद भवनको समुद्घाटन तथा १६ औँ डोटी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीहरूलाई सम्मान कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।
जोरायल गाउँपालिका अध्यक्ष श्री दुर्गादत्त ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, शिक्षा अधिकृत तेजबहादुर खत्री, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, खेलकुद प्रशिक्षक पवन कुमार साहु, शिक्षक, कर्मचारी, खेलाडी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको नवनिर्मित खेलकुद भवनको कार्यक्रममा औपचारिक रूपमा उद्घाटन गरिएको हो । खेलकुद गतिविधि सञ्चालन, प्रशिक्षण तथा खेलाडीहरूको क्षमता विकासका लागि निर्माण गरिएको उक्त भवनले स्थानीय खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा १६ औँ डोटी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक प्राप्त गर्ने खेलाडीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।खेलाडीहरूको मेहनत र सफलताको कदर गर्दै गाउँपालिकाले प्रोत्साहन स्वरूप सम्मान गरेको हो ।

जोरायल गाउँपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार उत्कृष्ट सफलता हासिल गर्दै आएको छ । गत वर्ष र यस वर्ष गरी लगातार दुई पटक डोटी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेर जोरायलले खेलकुद क्षेत्रमा आफ्नो बलियो पहिचान स्थापित गरेको छ । यो उपलब्धिले गाउँपालिकाभित्र रहेका खेलाडीहरूको प्रतिभा, अनुशासन र मेहनतलाई थप उजागर गरेको छ ।
कार्यक्रममा अध्यक्ष ओझाले खेलकुदले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्ने बताउँदै गाउँपालिकाले खेलकुद पूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन तथा प्रतिभा विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नवनिर्मित खेलकुद भवन सञ्चालनमा आएपछि जोरायल क्षेत्रका खेलाडीहरूलाई नियमित अभ्यास, प्रशिक्षण र विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ । खेलकुद क्षेत्रमा प्राप्त उपलब्धि र पूर्वाधार विकासले जोरायललाई जिल्लामै खेलकुदको उर्वर क्षेत्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



