
भारत उत्तर प्रदेशको हापुडस्थित गढमुक्तेश्वरमा पुत्लालाई मानिसको शव झैँ चितामा राखेर जलाउने प्रयास गरिएको छ। हरियाणा नम्बर प्लेटको कारमा आएका चार जनामध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य दुई फरार छन्।
बिहीबार दिउँसो ब्रजघाटस्थित श्मशानघाटमा HR नम्बरको i20 कारबाट चार पुरुष पुत्ला बेरेर पुगेपछि स्थानीयलाई शंका लागेको थियो। उनीहरूले नगरपालिकाबाट पर्ची लिएर घीँ, काठलगायत अन्तिम संस्कारका सामग्रीसमेत खरिद गरेका थिए। तर चितामा राखिएको वस्तु मानिसको शव नभई पुत्ला भएको स्थानीयले देखेपछि घटनाको खुलासा भयो। स्थानीयले तत्कालै अवरोध गर्दै प्रहरीले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो।

प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएर कार खानतलासी गर्दा दुईवटा अतिरिक्त डमी (पुत्ला) समेत बरामद गरेको छ। घटनामा बीमा ठगीको ठूलाे योजना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार कपडा व्यापारी कमल सोमानीले आफ्नै नौकर अंशुलको नाममा करिब ५० लाख रुपैयाँको बीमा गरेका थिए। नौकरलाई मृत घोषणा गराई पुत्लाको अन्त्येष्टि गरी नक्कली मृत्यु प्रमाणपत्र बनाउने उद्देश्यले यस्तो योजना बनाइएको खुल्न आएको छ। आरोपितहरूले अस्पतालले ‘गल्तीले नकली शव दिएको’ दाबी गरे पनि कारमा भेटिएका अन्य डमीका कारण उनीहरूको योजना झनै शंकास्पद बनेको प्रहरीले बताएको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको छ, जसमा भीड, स्थानीयको आक्रोश र चितामा राखिएको पुत्लाको दृश्य देखिन्छ। श्मशानकर्मीहरूले पनि पुत्ला देखेपछि प्रहरीलाई खबर गरेको बताएका छन्।
प्रहरीले नियन्त्रणमा रहेका दुईजनालाई सोधपुछ गर्दै फरार दुईजनाको खोजी पनि जारी राखेको छ। घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



