
काठमाडौं: बंगलादेशले नेपाललाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। बुधबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।

खेलको पहिलो हाफमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै बराबरीमा रोके पनि दोस्रो हाफमा खेल अझ रोमाञ्चक बन्यो। खेलको ५२औं मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गर्दै टिमलाई अग्रता दिलाइन्। तीन मिनेटपछि नै नेपालका लागि अमिशा कार्कीले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याइन्।

तर खेलको ८१औं मिनेटमा बंगलादेशकी रितु पोर्ना चक्माले निर्णायक गोल गर्दै बंगलादेशलाई २-१ को जित दिलाइन्। यस जितसँगै बंगलादेश साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको हो।



