
नेपाल रेडक्रस सोसाइटी जोरायल उपशाखाको १८औं वार्षिक साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन समारोह शनिबार जोरायल गाउँपालिकास्थित रेडक्रस भवनमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता जोरायल उपशाखा सभापति ठक्कर बहादुर कठायतले गरेका थिए। प्रमुख अतिथि जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले भवन उद्घाटन गर्दै रेडक्रसको राहत र सेवाहरूलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले गाउँपालिकाले रेडक्रसका कार्यक्रमहरूसँग सहकार्य गर्दै आवश्यक सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।


विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष जमुना बोहरा, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमिति सदस्य लक्षीराम कुँवर, सुदूरपश्चिम प्रदेश सभापति दिलबहादुर बुढा र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टको उपस्थिति रहेको थियो।उपशाखा सहसचिव मीन बहादुर रोकायाले संचालन गरेको कार्यक्रममा ६ वटै वडाका वडाअध्यक्ष, जनप्रतिनिधि, रेडक्रस उपशाखाका पूर्व र वर्तमान पदाधिकारी, सुरक्षाकर्मी, पत्रकार, र आजीवन सदस्यहरूको उल्लेखनीय सहभागिता थियो।
जोरायल गाउँपालिकाको करिब ३१ लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको भवनले स्थानीय आपतकालीन सेवाहरूलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ। कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य लक्षीराम कुँवरले रेडक्रसको सेवामूलक भावनाबारे प्रकाश पार्दै राहत वितरण र बिपत् व्यवस्थापनमा यसको योगदानको चर्चा गरे।
सभापति ठक्कर बहादुर कठायतले भवन निर्माणमा गाउँपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै हाल जोरायल उपशाखामा १५१ जना आजीवन सदस्य रहेको जानकारी दिए।साधारणसभा तथा भवन उद्घाटन कार्यक्रमले जोरायल क्षेत्रका जनतालाई थप सेवा र सुविधा प्रदान गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ। नवनिर्मित भवनको उद्घाटनसँगै रेडक्रसको कार्यक्षमता र पहुँचलाई विस्तार गर्ने योजना रहेको सभापतिले बताए।



