
डोटी। बडीकेदार गाउँपालिकामा सम्पन्न छैटौँ स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बर्छैन माध्यमिक विद्यालय, बडीकेदार–२ ले जितेको छ।
बर्छैन माध्यमिक विद्यालयको मैदानमा सञ्चालन भएको प्रतियोगितामा ३५ स्वर्ण, ६ रजत र ५ कांस्य पदकसहित बर्छैन माविले प्रथम स्थान हासिल गरेको हो।


प्रतियोगितामा ९ स्वर्ण र २ रजत पदकसहित दुर्गा मावि, देवली दोस्रो स्थानमा रह्यो। यस्तै, ३ स्वर्ण, ७ रजत र ७ कांस्य पदकसहित शिवजी मावि, भुज्याली तेस्रो स्थानमा पुगेको छ। चौथो स्थान भने ३ स्वर्ण, २ रजत र १ कांस्य पदकसहित बिरेन्द्र मावि, घाङगलले हासिल गरेको छ।
अन्य विद्यालयतर्फ, बिष्णु मावि, बरलगाउँले २ स्वर्ण, २ रजत र ८ कांस्य, लक्ष्मी मावि, रिसेडीले १ स्वर्ण, ६ रजत र १ कांस्य तथा विष्णु मावि, मुलेचौरले १ स्वर्ण, ३ रजत र २ कांस्य पदक जितेका छन्।
यसैगरी, केदारेश्वर मावि, लानाले २ रजत र ४ कांस्य पदक जित्दा जनता मावि, सडेखानले १ रजत र २ कांस्य पदक प्राप्त गरेको छ।
प्रतियोगितामा विभिन्न ३० विधामा प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।प्रतियोगिताले विद्यार्थीहरूमा शारीरिक क्षमता विकास र खेलकुदप्रतिको आकर्षण बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।



