
डोटीको सायल-२ सिर्मामा रहेको श्री तामेश्वरी आधारभूत विद्यालयको ४६औं वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर बहादुर ओलीको अध्यक्षता र सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निर्मला बोहरा ओली, वडा अध्यक्ष मानबहादुर सिंह लगायत अभिभावक, शिक्षक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम माघ १० गते पालिका अध्यक्ष धर्मराज जोशीले उद्घाटन गर्नुभएको थियो। उहाँले विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकासमा सुधार भएको उल्लेख गर्दै आगामी दिनमा विद्यालयलाई थप सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। जोशीले भन्नुभयो, “तामेश्वरी विद्यालयले सिर्मा र आसपासको क्षेत्रको शैक्षिक उन्नयनमा उल्लेखनीय योगदान दिएको छ। यहाँका विद्यार्थीको भविष्य अझ उज्यालो बनाउन हामी निरन्तर प्रयासरत रहनेछौं।”


दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा पहिलो दिन विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। छात्र-छात्राले सांस्कृतिक नृत्य, गायन, वक्तृत्वकला लगायत विविध प्रस्तुति दिएका थिए। सहभागीहरूले विद्यार्थीहरूको उत्साह र सिर्जनशीलताको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले उनीहरूको आत्मविश्वास वृद्धि गर्न सहयोग गर्ने बताएका थिए।
कार्यक्रमको दोस्रो दिन माघ ११ गते चर्चित गायक भुवन दाहालको विशेष सांगीतिक प्रस्तुति कार्यक्रममा मुख्य आकर्षण बनेको थियो। दाहालले प्रस्तुत गरेका गीतहरूले सहभागीहरूलाई रमाइलो वातावरण प्रदान गरेको थियो। स्थानीय युवा-युवतीदेखि वृद्धसम्म उहाँको प्रस्तुति देखेर उत्साहित देखिन्थे।
विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर सिंहले विद्यालयको वार्षिकोत्सवले शैक्षिक गतिविधि मात्र नभई सांस्कृतिक पक्षलाई पनि प्रोत्साहन गर्ने बताउनुभयो। उहाँले विद्यालयको विकासका लागि अभिभावक, शिक्षक, र समुदायको सहकार्य महत्वपूर्ण रहेको औंल्याउनुभयो।
स्रोत शिक्षक रविन्द्र जोशीले विद्यालयको यस्ता कार्यक्रमहरूले विद्यार्थीको व्यक्तित्व विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागी अभिभावकहरूले पनि विद्यालयले शैक्षिक र सांस्कृतिक गतिविधिमा अग्रसरता देखाएकोमा खुशी व्यक्त गरेका थिए।



