काठमाडौँ – सरकारले विवाह गर्ने कानूनी उमेर घटाउने विषयमा छलफल अघि बढाएको छ। प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकमा गृहमन्त्री रमेश लेखकले विवाह गर्ने उमेरसम्बन्धी कानुन संशोधन गर्न विधेयक तयार भएको जानकारी दिएका छन्।
गृहमन्त्री लेखकका अनुसार विवाहको उमेर १८ वर्षमा सीमित गर्ने वा “रोमियो जुलियट कानुन” ल्याउने भन्ने विषयमा सरकार छलफलमा रहेको छ। उनका अनुसार अन्तर्राष्ट्रिय अभ्यासअनुसार कतिपय देशहरूले १६ देखि १८ वर्ष उमेर समूहका प्रेम सम्बन्धलाई कानूनी मान्यता दिने प्रावधान अपनाएका छन्। सोही अवधारणालाई नेपालमा लागू गर्ने वा हालको विवाहको उमेर २० वर्षबाट १८ वर्षमा झार्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए।


उनका अनुसार मन्त्रिपरिषद्मा बालबालिका सम्बन्धी ऐन संशोधन प्रस्ताव दर्ता भइसकेको छ। संसदीय समितिको धारणा पनि विवाहको उमेर घटाउने पक्षमा देखिएकाले दुईवटा विकल्पमा छलफल भइरहेको उनले उल्लेख गरे। पहिलो, विवाहको कानूनी उमेर १८ वर्षमा सीमित गर्ने र दोस्रो, अन्तर्राष्ट्रिय अभ्यासअनुसार रोमियो जुलियट कानुन ल्याउने।
नेपालको वर्तमान कानुनअनुसार विवाहको लागि न्यूनतम उमेर २० वर्ष तोकिएको छ। तर, प्रस्तावित “रोमियो जुलियट कानुन” लागू भएमा १६ देखि १८ वर्ष उमेर समूहबीचको प्रेम सम्बन्धलाई कानूनी मान्यता दिइनेछ। गृहमन्त्री लेखकका अनुसार कतिपय देशहरूमा यस्तो कानुन लागू गरिएको छ, जसले प्रेम सम्बन्धका आधारमा बनेका सम्बन्धहरूलाई जबर्जस्ती करणीको रूपमा नहेर्ने व्यवस्था गर्छ।
त्यस्तै, गृहमन्त्री लेखकले थुनुवा तथा कैदीबन्दीको मानवअधिकारको सुरक्षा गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरे। हिरासतमा रहेका व्यक्तिहरूलाई कुनै पनि अमानवीय व्यवहार नगरिने र उनीहरूको मानवअधिकारको पूर्ण सुरक्षा गर्ने सरकारको दायित्व हुने उनले बताए।
उनले कारागारको भौतिक संरचनामा सुधार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै थप कारागार निर्माणका लागि पनि काम भइरहेको जानकारी दिए। कानुन समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन प्रस्तुत गरेपछि हिरासत सुधारका लागि सरकारले गम्भीरतापूर्वक काम गर्ने उनले बताए।



