काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ। वैशाख ११ गतेदेखि सुरु हुने परीक्षामा शिक्षकहरुको सहभागिता नहुन सक्ने परिस्थितिमा अन्य वैकल्पिक संयन्त्र प्रयोग गरिने बोर्डले स्पष्ट पारेको छ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई समन्वय गरिनेछ। जिल्लास्तरमा परीक्षा समन्वय समिति, शिक्षा इकाइ र प्रदेशमा बोर्डका कार्यालयहरूसँग समन्वय गरी परीक्षा केन्द्रहरूमा केन्द्राध्यक्ष खटाइनेछ।

‘शिक्षकहरूलाई परीक्षा सञ्चालनमा फर्किन आह्वान गरेका छौं। तर यदि उनीहरू सहभागी भएनन् भने स्थानीय तहका कर्मचारी, क्याम्पस र निजी विद्यालयका शिक्षकहरूलाई प्रयोग गर्ने तयारी छ,’ शर्माले भने। ‘जिल्लामा आवश्यकताअनुसार प्रमुख जिल्ला अधिकारीमार्फत संयन्त्र सक्रिय गरिनेछ।’

बोर्डका अनुसार परीक्षा केन्द्रहरूको बाह्य सुरक्षाका लागि प्रहरी परिचालन गरिनेछ। ‘यसअघि पनि शिक्षक केन्द्राध्यक्ष हुँदा प्रहरी परिचालन हुने गरेको थियो,’ शर्माले बताए।
यस वर्ष कक्षा १२ को परीक्षा दिने विद्यार्थी संख्या ५ लाख ११ हजार रहेको छ भने १ हजार ५९० परीक्षा केन्द्र तोकिएका छन्। तर, शिक्षक आन्दोलनका कारण यसपालि परीक्षा सञ्चालनका लागि कुनै तालिम भने दिइएको छैन।
शिक्षक महासंघले भने बोर्डको निर्णयको विरोध गर्दै परीक्षा बहिस्कार गर्ने अडान दोहोर्याएको छ। महासंघका महासचिव तुलाबहादुर थापाले भने, ‘बोर्डले परीक्षा गर्ने निर्णय गरेको छ तर हामी असहयोग गर्छौं। शैक्षिक हड्ताल कायमै छ।’
शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक र शिक्षा क्षेत्रका कर्मचारीहरू २० चैतदेखि काठमाडौंमा आन्दोलनरत छन्।परीक्षा हुने कि नहुने भन्ने अन्योल कायमै रहेका बेला आज मंगलबार बसेको बोर्ड बैठकले निर्धारित मितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।



