
डोटी — डोटीको जोरायल गाउँपालिका–२ स्थित बाँझिलेक गाउँ बुधबारदेखि धुवाँमुक्त गाउँ बनेको छ। ग्रामीण जीवनशैलीमा सुधार ल्याउने उद्देश्यले Livelihood Funds को आर्थिक सहयोग, Practical Action, आस्था नेपाल तथा बसेनि सामुदायिक बन उपभोक्ता समितिको साझेदारीमा १०३ घरधुरीमा बायुपंखी चुलो वितरण गरिएको हो।
बुधबार आयोजित कार्यक्रममार्फत वितरण गरिएको बायुपंखी चुलोले घरभित्रको धुवाँको असर हटाउनुका साथै इन्धनको खपत घटाउने, महिला दिदीबहिनीहरूको समयको बचत हुने, स्वास्थ्यमा सुधार ल्याउने र वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ। आस्था नेपालका फिल्ड सहायक गणेश खड्काका अनुसार चुलोले ग्रामीण जीवनस्तरमा सकारात्मक प्रभाव पार्नेछ।


प्रत्येक चुलोको लागत ६ हजार ३ सय २५ रुपैयाँ पर्ने भए पनि आस्था नेपालले ३ हजार ७ सय रुपैयाँ बराबरको अनुदान प्रदान गरेको थियो। बाँकी २ हजार ६ सय २५ रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने भए पनि उक्त सम्पूर्ण रकम बसेनि सामुदायिक बन उपभोक्ता समितिले व्यहोरेको समितिका अध्यक्ष कृष्ण दर्लामीले जानकारी दिए।
चुलो वितरण कार्यक्रममा जोरायल गाउँपालिका–२ का वडा अध्यक्ष वीर बहादुर दर्लामी, चुलो आपूर्ति कम्पनीका प्रतिनिधि दिपक नेपाली, आस्था नेपालको पूर्व सामुदायिक परिचालिका यशोदा मल्ल, बसेनि सामुदायिक बनका उपभोक्ता तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
वडाध्यक्ष दर्लामीले चुलो वितरणले गाउँमा देखिने स्वास्थ्य र वातावरण सुधारका लागि नयाँ ढोका खोलेको बताउँदै यस्ता कार्यक्रममा आफ्नो पनि निरन्तर साथ रहने प्रतिबद्धता जनाए। बसेनि सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष कृष्ण दर्लामीले सामुदायिक बनले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो पहललाई सहयोग पुर्याएको उल्लेख गरे।
बायुपंखी चुलो प्राप्त गरेका उपभोक्ताहरूले चुलो पाएपछि खुशी व्यक्त गरेका छन्। उनीहरूले वातावरणमैत्री प्रविधिले खाना पकाउने काम सहज हुनुका साथै स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्। साथै, उनीहरूले चुलो खरीदका लागि आवश्यक रकम बेहोरेको बसेनि सामुदायिक बनप्रति आभार प्रकट गर्दै बनको सक्रियताले गाउँमा सकारात्मक परिवर्तन सम्भव भएको प्रतिक्रिया दिएका छन्।



