
हेमन्त जोशी बाजे
कैलाली , साउन २६
गौरीगंगा नगरपालिका–६, बनबेहडा, कैलालीस्थित जुपिटर एकेडेमी नेपालले आनन्दी रोकायालाई नर्सरीदेखि कक्षा १० सम्म नि:शुल्क पढाउने घोषणा गरेको छ।

गत साउन १० गते तामा खोज्न घरबाट निस्किएका टेकबहादुर रोकाया चार दिनपछि चुरे–४, सिताखाली खोलामा मृत अवस्थामा फेला परेका थिए। उनी एक मात्र छोरी आनन्दीलाई छोडी गए। पारिवारिक अवस्था अत्यन्त नाजुक रहेको बुझ्नासाथ विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत उनको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने निर्णय गरेको हो।
विद्यालयमा आयोजित छलफल कार्यक्रममा प्राचार्य मणिराम धामीले संस्थाको स्थापना कालदेखि नै गरिब, विपन्न, आर्थिक अवस्था कमजोर तथा एकल अभिभावक भएका बालबालिकाको शिक्षामा प्रोत्साहन गर्दै आएको बताए। उनले मासिक शुल्क, भर्ना शुल्कलगायतमा छुट दिने परम्परा निरन्तरता दिइरहेको उल्लेख गर्दै भने,“केही दिनअघि हामीले एक युवालाई गुमायो। उनको परिवारको अवस्था बुझ्दा अत्यन्तै कठिन देखियो। त्यसैले मृतक रोकायाकी छोरीलाई दश कक्षा सम्म पूर्ण रूपमा नि:शुल्क पढाउने प्रतिबद्धता गरेका छौं।”
यस मानवीय कदमको उच्च मूल्यांकन गर्दै स्थानीयवासीहरूले विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरेका छन्।


