
डोटी । आज भगवान श्रीकृष्णको जन्मोत्सव कृष्ण जन्माष्टमी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यसै अवसरमा डोटीको जोरायल गाउँपालिका–२ कमलानदि स्थित विष्णु पादुका (हाल कृष्ण पादुका भनिने ) क्षेत्रमा विशेष आध्यात्मिक दर्शन तथा आशीर्वाद कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा नेपालका प्रथम जगतगुरु १००८ श्रीमद् बालसन्त मोहनशरण देवाचार्यको विशेष उपस्थितिमा पूजाआराधना, प्रवचन, भजन–कीर्तन र सामूहिक प्रसाद वितरण हुने जनाइएको छ। गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले सम्पूर्ण श्रद्धालु भक्तजनलाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गर्नुभएको छ।

‘विष्णु पादुका’लाई ढुङ्गामा भगवान विष्णुको पावलको छाप रहेको पवित्र स्थलका रूपमा मानिन्छ। यसको धार्मिक र ऐतिहासिक महत्व उच्च रहेको छ। २०७७ सालमा जगदगुरु मोहनशरण देवाचार्यले यहाँ विशेष धार्मिक कार्यक्रम आयोजना गरी यस क्षेत्रको धार्मिक प्रचार–प्रसार गर्नुभएको थियो। हाल गाउँपालिकाको सहयोगमा मन्दिरसहितका भौतिक संरचना निर्माण भइसकेका छन्।
अध्यक्ष ओझाका अनुसार जगदगुरु मोहनशरण देवाचार्य साउन ३० गते जोरायल पुग्नुभएको छ भने आज प्रमुख कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रमको सम्पूर्ण व्यवस्थापन जोरायल गाउँपालिका र विष्णु पादुका व्यवस्थापन समितिले गर्ने जनाएको छ। यस अवसरमा भक्तजनहरूले धार्मिक तथा आध्यात्मिक लाभ लिन सक्ने अपेक्षा गरिएको छ।



