
डोटी, २०८२ भदौ १६ ।
हाल जिल्लाभर लगातार भइरहेको अविरल वर्षा र अझै वर्षा हुने सम्भावनासँगै सेती नदीसहित विभिन्न साना नदी, खोला र खहरेमा जलस्तर उल्लेखनीय रुपमा बढ्न सक्ने अनुमान गरिएको छ। यस अवस्थामा तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय, डोटीले आग्रह गरेको छ।
प्रशासनले जिल्लाका मुख्य राजमार्ग तथा ग्रामीण सडकमा बाढी र पहिरोको जोखिम उच्च रहेकाले आपतकालीन अवस्था बाहेक रातिको समयमा यात्रा नगर्न र सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेको छ।

त्यसैगरी, विपदजन्य घटना भएमा तुरुन्तै वडा कार्यालय, नजिकको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।
साथै, आकस्मिक अवस्थाका लागि सम्बन्धित निकाय, पदाधिकारी तथा सरोकारवालाहरूलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइएको छ।
आपतकालीन सम्पर्क नम्बरहरू:
प्रमुख जिल्ला अधिकारी : ९८५८४३७७७७
सूचना अधिकारी : ९८६४३२३७३७
विपद फोकल पर्सन : ९८६४३२२२९१


