
हेमन्त बाजे, बनबेहडा कैलाली ।
कैलालीको गौरीगंगा नगरपालिका–६, बनबेहडा बजारमा रहेको नेपाल टेलिकम (एनटिसी) टावरमा लामो समयदेखि देखिएको समस्या र लापरबाहीका कारण स्थानीय बासिन्दा संचार सेवाबाट वञ्चित भइरहेका छन्।
स्थानीयहरूका अनुसार, पछिल्ला चार–पाँच महिनादेखि टावरमा बत्ती गएपछि मोबाइल नेटवर्क हराउने, फोन नलाग्ने र इन्टरनेट नचल्ने समस्या निरन्तर दोहोरिँदै आएको छ। यसले गर्दा मोबाइल सम्पर्क, एसएमएस र इन्टरनेट प्रयोगमा समेत गम्भीर समस्या परेको छ।
स्थानीय प्रितम कुँवरका अनुसार, “फोन गर्दा गर्दै बत्ती गए भने कुराकानी अधुरो हुन्छ र कल आफैं काटिन्छ।” लामो समयदेखि समस्या समाधान नहुँदा दैनिक सम्पर्क र व्यवसायिक कार्य प्रभावित भएको उनको गुनासो छ।

वडा कार्यालय नजिकै रहेको टेलिकम टावरको कमजोरीले सरकारी सेवासमेत प्रभावित भएको छ। “वडा कार्यालयमा आउने सेवाग्राहीले पनि नेटवर्क नहुँदा काम गर्न समस्या भोगिरहेका छन्,” गौरीगंगा–६ का वडा सचिव भक्तराज ओझाले बताए।
युवा नेता हेमन्त राज जोशी (बाजे)ले पटक–पटक नेपाल टेलिकमको ध्यानाकर्षण गराएको जानकारी दिए। “समस्या बारे बारम्बार जानकारी गराउँदा पनि बेवास्ता भयो,” उनले भने, “तर हिजो सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयका प्रमुख दबेन्द्र कुमार चौधरीसँग छलफल हुँदा उहाँले तुरुन्तै प्राविधिक टोली पठाउने आश्वासन दिनुभयो।”
जोशीका अनुसार, चरिडाँडा, मोया र दैद्वारी जस्ता बस्तीहरूमा पनि टेलिकमको सेवा कमजोर भएको कारण स्थानीय नागरिक संचार सुविधाबाट वञ्चित छन्। टावरबाट दुई किलोमिटर परका बस्तीहरूमा नेटवर्क नदेखिने समस्या सामान्य भइसकेको उनले बताए।
नेपाल टेलिकम कार्यालयका वरिष्ठ इन्जिनियर प्रितम भट्टका अनुसार, टावरमा ब्याट्री सम्बन्धी समस्या देखिएको हो। “तिहारअघि नै प्राविधिक टोली पठाएर समस्या समाधान गर्ने तयारी भइरहेको छ,” उनले बताए।



