
डोटी । जोरायल गाउँपालिकाभित्र शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बिहीवार सम्मान गरिएको छ ।
जोरायल गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजित कार्यक्रममा कक्षा १२, एसईई तथा आधारभूत तह कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको हो ।

कार्यक्रम जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तेजबहादुर खत्री, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शैक्षिक सत्र २०८२ मा गाउँपालिकाभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीहरूलाई सम्मान गरिएको छ । समग्रमा आधारभूत तह कक्षा ८, एसईई र कक्षा १२ तर्फ पालिकाभित्र उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयका रूपमा रघुनाथ माध्यमिक विद्यालय, निरौलीलाई सम्मान गरिएको छ ।

कक्षा १२ तर्फ पालिकाभित्र प्रथम हुन सफल छात्रातर्फ टिका पुन मगर ( रघुनाथ माध्यमिक विद्यालय, निरौली) र छात्रतर्फ श्री तपराज भट्ट (घण्टेश्वर माध्यमिक विद्यालय, कुँडिकोट) सम्मानित भएका छन् ।त्यसैगरी एसईई परीक्षातर्फ पालिका प्रथम हुन सफल छात्रातर्फ झरना ओली ( घण्टेश्वर माध्यमिक विद्यालय) र छात्रतर्फ केशव सिंह धामी ( रामपुर माध्यमिक विद्यालय, बुडर) लाई सम्मान गरिएको छ ।
आधारभूत तह कक्षा ८ तर्फ पालिका प्रथम हुन सफल छात्रातर्फ सम्झना छेडाल ( रघुनाथ माध्यमिक विद्यालय, निरौली) तथा पालिका द्वितीय हुन सफल छात्रातर्फ रेनुका नाथ ( गौरीशंकर माध्यमिक विद्यालय) लाई सम्मान गरिएको हो ।
यसैगरी विद्यालयको सिकाइ उपलब्धि सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै SEE तथा कक्षा १२मा विभिन्न विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल जोरायल गाउँपालिकाभित्रका विभिन्न विद्यालयका ४३ जना शिक्षक–शिक्षिकाहरूलाई समेत प्रमाणपत्रसहित सम्मान गरिएको छ । विद्यार्थीको नियमित सिकाइ, प्रभावकारी अध्यापन तथा विषयगत तयारीमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरूको मेहनतको सम्मान गरिएको शिक्षा शाखाले जनाएको छ ।
कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तेजबहादुर खत्रीले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले उत्कृष्ट नतिजा हासिल गर्नु विद्यालय, शिक्षक र विद्यार्थीको निरन्तर मेहनत, अनुशासन र समर्पणको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि सिकाइ उपलब्धि सुधार र गुणस्तरीय शिक्षा प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले शिक्षा क्षेत्रको विकास गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक तथा विद्यार्थीलाई बधाई व्यक्त गर्नुभयो । उहाँले शैक्षिक सुधारका लागि आवश्यक सहयोग र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जोरायल गाउँपालिकाले शिक्षा क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थीको पहिचान गरी सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ । यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थीमा थप उत्साह सिर्जना गर्दै शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।



