डोटी, जोरायल । दशैं तथा तिहारको शुभकामना आदानप्रदानसँगै आपसी सद्भाव, भाइचारा र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले डोटीको जोरायल गाउँपालिकाद्वारा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज असोज १८ गते सम्पन्न भएको छ। असोज १७ गतेदेखि सुरु भएको प्रतियोगितामा गाउँपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा शिक्षकहरूको समूहबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कर्मचारी समूहले उपाधि जित्न सफल भएको छ।
प्रतियोगिताअन्तर्गत असोज १७ गते भएको पहिलो खेलमा कर्मचारी समूहले जनप्रतिनिधि समूहलाई ६–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यसैगरी स्वास्थ्यकर्मी र शिक्षक समूहबीच भएको दोस्रो खेल निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएको थियो। समय अभावका कारण स्थगित भएको उक्त खेल आज बिहान पुनः सञ्चालन गरिए पनि दुवै समूहबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट निर्णय गरिएको थियो। पेनाल्टीमा स्वास्थ्यकर्मी समूहले ३ गोल गर्दा शिक्षक समूहले २ गोल मात्रै गर्न सफल भएपछि स्वास्थ्यकर्मी समूहले सेमिफाइनलमा स्थान बनाएको थियो।


प्रतियोगिताको तेस्रो स्थानका लागि आज भएको खेलमा शिक्षक समूहले जनप्रतिनिधि समूहलाई २–० गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। त्यसैगरी उपाधिका लागि भएको फाइनल खेलमा कर्मचारी समूहले स्वास्थ्यकर्मी समूहलाई ६–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो। शानदार जितसँगै कर्मचारी समूहले ट्रफीसमेत हात पारेको छ।
प्रतियोगिता समापन कार्यक्रममा जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको अध्यक्षता रहेको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टलगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, स्थानीय शिक्षक, बुद्धिजीवी तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ओझाले चाडपर्वको अवसरमा आयोजना गरिने यस्ता मैत्रीपूर्ण खेलकुद गतिविधिले आपसी सद्भाव, एकता, सहकार्य र आत्मीयता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यलाई सुदृढ बनाउनुका साथै विभिन्न पेसा र जिम्मेवारीमा रहेका व्यक्तिहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गर्नुभयो। साथै, आगामी दिनमा पनि यस्ता खेलकुद कार्यक्रमलाई निरन्तरता दिइने र प्रतियोगितामा विभिन्न क्षेत्र, पेसा तथा समुदायका समूह र व्यक्तिहरूलाई समेट्दै सहभागिताको दायरा फराकिलो बनाइने विषयमा जोड दिनुभयो। उहाँले उपस्थित सबैलाई दशैं, तिहारलगायतका चाडपर्वको शुभकामनासमेत व्यक्त गर्नुभएको थियो।
चाडपर्वलाई उल्लासमय बनाउँदै स्थानीय तहमा कार्यरत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकबीच आपसी सम्बन्ध र सहकार्य बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलकुदमार्फत एकता र सद्भावको सन्देश दिएको कार्यक्रम संयोजक तथा जोरायल गाउँपालिका खेलकुद प्रशिक्षक पवन साहुले बताउनु भयो। आगामी दिनमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेत सहभागी गराएर यस्ता प्रतियोगितालाई निरन्तरता दिन सके स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकास, आपसी सहकार्य र सामाजिक एकतालाई थप मजबुत बनाउन सहयोग पुग्ने पालिकाले अपेक्षा गरेको छ।



