कैलालीको गोदावरी नगरपालिका वडा नं–१ अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा आज नेपाली साहित्यका उज्ज्वल नक्षत्र स्व. विश्वेश्वर प्रसाद कोइरालाको १११ औं जन्म–जयन्ती कार्यक्रम भव्यरुपमा मनाइएको छ । सो अवसरमा स्व.वी.पी.प्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा ‘नेपाली साहित्य र वी.पी.कोइराला’ विषयक विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमको सभापतित्व पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीज्यूले गर्नु भएको थियो । कार्यक्रममा हिरादत्त भट्ट, डा. नरेन्द्र बहादुर ऐर, पदमराज भट्ट, तीर्थराज जोशी, तीर्थराज ओझा (गड्सेरी माइला) र पदमप्रकास साउँद अतिथि रहनु भएको थियो ।
संस्थाका कार्य समिति सदस्य विश्वनाथ ओझाको स्वागत मन्तव्यबाट सुरु भएकोे कार्यक्रममा सभापति तथा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले विचार गोष्ठीको विषय वस्तु माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा कुमार निरौला, पदमराज भट्ट, तुलसी भट्ट, निर्मलकुमार भण्डारी , गिरिराज अवस्थी लगायत वक्ताहरुले साहित्यकार वी.पी.का विषयमा आ–आफ्ना विविध रचनाहरु एवम् मन्तव्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन पुस्तकालयका नियमित पाठक एवम् विद्यार्थी श्री एल.आर.ओझाले गर्नु भएको थियो ।