काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना तिराएको छ ।
विभागले बुधबार जावलाखेल ललितपुर महानगरपालिका १५ स्थित आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनी आकाश फुड्सलाई २ लाख जरिवाना तिराएको हो ।यस कम्पनीमा पुरानो खुइलिसकेको प्याकेटको खाने तेल प्रयोग गरी मिठाइ उत्पादन गरिएको फेला पारेको थियो । ललितपुरकै हानकुक साराङ रेस्टुरेन्ट प्रालि ३ लाख जरिवाना तिराएको छ ।
साराङ रेस्टुरेन्टले मैदाको ब्राण्ड उल्लेख नभएको फेला पारेको थियो । उक्त मैदामा लेबल नै नराखेको तथा उत्पादन मिति, ब्याच नम्बर र परिमाण उल्लेख नभएको पाइएको थियो । यस्तै दर्ता प्रमाण पत्र नराखी सञ्चालन गरिएको नयाँ बानेश्वरस्थित जनकपुर मिठाई एण्ड चार्ट्स हाउसलाई पनि ६५ हजार जरिवाना गराएको छ ।