
काठमाडौं: सहकारीको रकम अपचलनको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ। उनी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन र सङ्गठित अपराधमा संलग्न भएको आरोपमा शुक्रबार पक्राउ परेका थिए। पक्राउ पछि उनलाई राति नै पोखरा ल्याई जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, लामिछानेलाई आज अदालतमा पेश गरिनेछ। उनीसहित गोरखा मिडिया नेटवर्कका चारजनालाई सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ। यस विषयमा संसदको विशेष समितिले लामिछानेसहित गोरखा मिडियाका अध्यक्ष जीबी राई, सदस्य कुमार रम्तेल, र सञ्चालक छविराज जोशीविरुद्ध कारबाही सिफारिस गरेको थियो।

समितिको निष्कर्षअनुसार गोरखा मिडिया नेटवर्कमा देशभरिका नौवटा सहकारीको रकम अनियमित तवरले अपचलन भएको थियो। ती सहकारीमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, र वीरगन्जको सानोपाइला लगायतका सहकारीहरु रहेका छन्। समितिले यस अपचलनमा संलग्न रहेका सबैलाई कारबाहीका लागि सरकारलाई सिफारिस गरेको छ।
त्यस्तै, फरार रहेका अन्य अभियुक्तहरू जीबी राई, थानबहादुर बुढा मगर, र दिनेश रोक्कालगायतलाई पनि तत्काल पक्राउ गर्न समितिले सरकारलाई निर्देशन दिएको छ।



