
यसवर्ष तिथिको घटबढका कारण कुकुर तिहार तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका सदस्य प्राडा देवमणि भट्टराईका अनुसार सूर्योदयकालमा चतुर्दशीको दिन कुकुर तिहार मनाउनुपर्ने मान्यता छ। धार्मिक मान्यताअनुसार, कात्तिक कृष्ण चतुर्दशीको दिन कुकुरलाई परिकार खान दिइन्छ।

धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार, यमराजको ढोकामा द्वारपालका रूपमा रहेका श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो खुलाइदिने मान्यता छ। यसरी कुकुरलाई धर्मराज युधिष्ठिरको स्वर्ग यात्रामा पनि साथ दिएको जनविश्वास छ। सुरक्षामा भरोसालाग्दो जनावरको रूपमा कुकुरलाई सम्मान गर्ने चलन पनि बढिरहेको छ।

नरक चतुर्दशीको महत्त्व
यस दिन नरक चतुर्दशी परेकाले बिहानै तीर्थ, नदी वा तलाउमा स्नान गर्ने, तर्पण गरेर यमदीप बगाउने प्रचलन छ। यसो गर्दा मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ।
तिलको तेलको स्नान प्रचलन
तिहारका पाँचै दिन तिलको तेलले स्नान गर्दा स्वास्थ्यलाई लाभ पुग्ने आयुर्वेदिक मत रहेको चिकित्सक डा. वंशदीप शर्मा खरेल बताउँछन्। यसरी तिहार स्वास्थ्य सुरक्षाको दृष्टिले पनि महत्त्वपूर्ण पर्व बनेको छ।



