यसपटक भाईटीकाको दिन नेपालका विभिन्न स्थानमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद् सञ्जिव अधिकारीका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा तराईका केही भागमा वर्षा हुन सक्नेछ। काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुने सम्भावना छ। यद्यपि, वर्षा क्षणिक मात्र हुनेछ र कुनै स्थानमा निरन्तर वर्षा हुने छैन।
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण हल्का वर्षासँगै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन माहाशाखाले आग्रह गरेको छ।
साथै, अब एक सातापछि अर्थात नोभेम्बर ९ तारिखपछि तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना रहेको मौसमविद् डा. धर्मराज उप्रेतीले जनाउनुभएको छ। विशेषगरी काठमाडौँ उपत्यकालगायत मुलुकभर तापक्रम घटेर चिसो सुरु हुने अनुमान छ।
जनस्वास्थ्यविद्हरुले चिसो मौसममा दम, रुघाखोकी, ज्वरोजस्ता समस्यामा वृद्धि हुनसक्ने र रोगका जिवाणु लामो समयसम्म हावामा टिक्नसक्ने भएकाले सावधानी अपनाउन सल्लाह दिएका छन्।