लोक आस्थाको महापर्व छठको दोस्रो दिन, आज बर्तालुहरू ‘खरना’ विधिमा संलग्न छन्। कात्तिक शुक्ल चौथीका दिन सम्पन्न ‘नहाय-खाय’ पछि आज कात्तिक शुक्ल पञ्चमीमा खरनाको तयारी सुरु भएको छ। बिहानै पवित्र स्नान गरेर बर्तालुहरूले दिनभरि निराहार व्रत बस्नेछन् र साँझपख छठी मातालाई प्रसाद चढाएर खरना विधि सम्पन्न गर्नेछन्।
‘खरना’ को अवसरमा माटोको नयाँ चुल्होमा सक्खर, दूध, र विशेष धानको चामल मिलाएर पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई अर्पण गरिन्छ। चन्द्र दर्शनपछि बर्तालुले यो खिर प्रसादको रूपमा ग्रहण गर्छन्। श्रद्धा, निष्ठा, समर्पण र आत्मशुद्धिको भावना राखेर गरिएको यो विधिले छठ पर्वलाई थप विशेष बनाएको छ।


भोलि कात्तिक शुक्ल षष्ठीका दिन बर्तालुले निराहार व्रत बसेर साँझमा जलाशयको घाटमा गएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन्, जसलाई ‘सझुका अरख’ भनिन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिएर पर्वको समापन गरिन्छ। अघ्र्यका लागि विशेष परिकार ठकुवा, भुसुवा, र केराका फलफूल सूर्यदेवलाई चढाइन्छ।
छठको प्रसादहरू आफन्तलाई घरमै बोलाएर खुवाउने र टाढा भएका इष्टजनकहाँ पुर्याउने मैथिल परम्परा रहेको छ। ढिकी-जाँतोमा पिसिएको पिठोबाट बनाइने यी परिकारहरूले पर्वको पवित्रतालाई अझै सुदृढ बनाएको छ।
पछिल्लो समय पर्वते मूलका हिन्दूहरूले पनि छठ मनाउन थालेका छन् भने इस्लाम धर्मावलम्बीहरूले पनि बर्तालुलाई सहयोग गर्दै आइरहेका छन्, जसले यो पर्वलाई साझा संस्कृति बनाएको छ। बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्काका अनुसार, छठले सम्पूर्ण समुदायलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
छठ पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्गका रूपमा विकसित हुँदै गइरहेको छ, जहाँ सबै धर्म, संस्कृति र वर्गका मानिसहरू सहभागी भई आपसी सद्भाव र सहकार्यको उदाहरण प्रस्तुत गर्छन्।



