
डोटी । फेल्म नेपालको आर्थिक सहयोगमा ली-बर्डले कार्यान्वयन गरिरहेको “समानुकुलित जीविकोपार्जनका लागि साना किसानहरुको क्षमता अभिवृद्धि कार्यक्रम (सक्षम परियोजना) द्वारा आयोजित बहुसरोकारवाला स्तरीय नीति संवाद कार्यक्रम सोमबार जोरायल गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, विभिन्न विषयगत शाखाका प्रमुख र कर्मचारी, परियोजना प्रमुख इन्देश्वर मण्डल, परियोजनाका अन्य कर्मचारी सहित पत्रकार तथा विभिन्न सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति थियो।
सक्षम परियोजनाका परियोजना प्रमुख मण्डलले कार्यक्रमको उद्देश्य, लक्ष्य र हालसम्म प्राप्त उपलब्धिहरूबारे जानकारी गराए। यस संवादका प्रमुख चार विषयहरूमा गहन छलफल भएको थियो । कार्यक्रममा उपस्थित सरोकारवालाले निर्माण गरिएका नीतिहरूलाई स्थानीय स्तरमा प्रभावकारी रूपमा लागू गर्ने चुनौती र त्यसका लागि भएका प्रयासबारे छलफल गरेका थिए। वक्ताहरूले नीति निर्माणको क्रममा ठूला आश्वासन भए पनि कार्यान्वयनको चरणमा बजेट र प्राविधिक स्रोतको अभावका कारण सोचेअनुसारको नतिजा प्राप्त गर्न नसकिएको उल्लेख गरे। स्थानीय तहका जनप्रतिनिधिहरूले केन्द्रबाट आएका नीतिहरूलाई स्थानीय परिस्थिति अनुरूप परिमार्जन गर्दै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

त्यसै गरि जलवायु परिवर्तन र प्राकृतिक विपद्ले गर्दा उत्पन्न हुने समस्याहरू समाधान गर्न गाउँपालिकामा भएका प्रयास र रणनीतिबारे संवाद गरिएको थियो। वक्ताहरूले जलवायु परिवर्तनले ग्रामीण कृषिमा पर्ने असरबारे चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनका लागि नीतिगत ढाँचाको आवश्यकताबारे सुझाव दिए। प्राकृतिक प्रकोपको समयमा राहत तथा पुनर्स्थापनाको प्रभावकारीता बढाउन आवश्यक रणनीति र आपूर्तिको सुनिश्चितताको बिषयमा चर्चा गरिएको थियो।

छलफलकै क्रममा गाउँपालिका भित्रका कृषकहरूको खाद्य अधिकार र खाद्य सुरक्षालाई प्रोत्साहन गर्ने नीतिहरूको प्रभावकारितामा विशेष ध्यान दिन सुझाव दिएको थियो । कार्यक्रममा स्थानीय स्रोत र साधनको सही प्रयोग गरी आत्मनिर्भर उत्पादन प्रणालीलाई बढावा दिने तरिकाबारे बहस भएको थियो । सहभागीहरूले खाद्य सम्प्रभुताका लागि स्थानीय स्तरमा उत्पादन वृद्धि र आपूर्तिको श्रृंखलालाई व्यवस्थित बनाउन आवश्यक पहलहरूबारे पनि सुझाव राखेका थिए ।
बहस कार्यक्रममा गरिब तथा बिपन्न वर्गका लागि नीतिगत प्रयासहरू बादी, मुक्त हलिया, अपाङ्गता भएका व्यक्ति, र एकल महिलाहरू जस्ता गरिब तथा बिपन्न वर्गको जीवनस्तर सुधारका लागि भएका नीतिगत प्रयासहरूमा पनि छलफल भएको थियो। सहभागीहरूले गाउँपालिकाले यी वर्गको हितमा विभिन्न नीति निर्माण गरे पनि बजेट अभाव र अन्य प्राथमिकताका कारण कार्यान्वयनको कमी भएको बताए। यस्ता प्रयासहरूलाई दीर्घकालीन रुपमा प्रभावकारी बनाउँदै सामाजिक समावेशीता सुनिश्चित गर्न ठोस योजनाहरूको खाँचो भएको सुझाव दिइएको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष नवीन ओझाले नीतिहरू बनाइए पनि तिनको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण भएको बताउँदै बजेटको सीमितता र भौतिक पूर्वाधारमै अधिकतम बजेट विनियोजन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे। उनले बजेट विनियोजनको क्रममा राजनीतिक दबाब र जनताको अपेक्षाले आफ्नो प्राथमिकता निर्धारण गर्न चुनौती बनिरहेको बताए। यद्यपि, आगामी दिनमा यस्ता सामाजिक र विकासात्मक विषयहरूलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे।
उपाध्यक्ष जमुना बोहराले संवाद कार्यक्रममा प्राप्त सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने र संघसंस्थासँग सहकार्य गरी विविध कार्यक्रम अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन्। उनले जोरायल क्षेत्रमा कृषि र सामाजिक विकासमा ली-बर्डले पुर्याएको योगदानको प्रशंसा गर्दै प्राप्त सुझावका आधारमा सामाजिक क्षेत्रमा कार्यक्रम र बजेट विस्तार गर्ने योजना रहेको बताइन्।
कार्यक्रमले स्थानीय स्तरमा नीति कार्यान्वयनलाई सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ । हाल यो परियोजनाले जोरायल गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाहरुमा घर बगैंचा निर्माणमा सहयोग, दुईवटा जलवायु अनुकुलन नमुना गाउँ (Climate Smart Village) को स्थापना, बहुउद्देश्यीय नर्सरी स्थापनाको लागि सहयोग, व्यावसाय सुरु गर्न आर्थिक सहयोगका कार्यक्रम गर्दै आएको छ । त्यस्तै गोठ सुधार सहयोग, बीउ तथा सामाग्री सहयोग, सामुदायिक बिउ बैँकलाई बिउ कोष सहयोग, पशु नश्ल सुधार सहयोग कार्यक्रम, पशु बिमा सहयोग कार्यक्रम, भुमिहिन घरधुरीहरुको कृषि उत्पादन तथा आयआर्जनका लागि बिउबिजन तथा कृषि सामाग्री सहयोग लगायतका विभिन्न कार्यक्रमहरु संचालनमा रहेको संस्थाले जनाएकोछ।



