
काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आयोजित कार्यक्रममा सामाजिक सुरक्षाको दायरा थप विस्तार गरिने घोषणा गर्नुभएको छ। प्रधानमन्त्री ओलीले आगामी ९० दिनभित्र योगदानकर्ताका परिवारका सदस्यहरू, विशेष गरी छोराछोरीलाई पनि कोषबाट लाभ प्राप्त हुने व्यवस्था गर्ने बताए।
उहाँले थप जानकारी दिंदै भने, “अर्को महत्वपूर्ण पहलको रूपमा, एक लाख रुपैयाँभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई ५० प्रतिशत उपचार खर्च कोषबाट व्यहोर्ने व्यवस्था लागू गरिने छ।” यसले योगदानकर्ताहरूलाई स्वास्थ्य सेवामा थप राहत प्रदान गर्ने र सामाजिक सुरक्षालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।


प्रधानमन्त्री ओलीले सरकारको प्रमुख जिम्मेवारी र संविधानमा निर्धारण गरिएका मौलिक हकका बारेमा चर्चा गर्दै, “सरकार गरीब र पछौटेपनको अवस्थाबाट मुलुकलाई बाहिर निकालेर समृद्ध र आधुनिक राष्ट्रको निर्माणमा लागिपरेको छ।” उहाँले सामाजिक सुरक्षामा भइरहेको सुधारलाई देशको समग्र सामाजिक र आर्थिक उत्थानको लागि महत्वपूर्ण कदम भनेका छन्।
यस अवसरमा, प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कोषमा बढी योगदान दिने विभिन्न व्यक्ति र संस्थाहरूलाई पुरस्कार प्रदान गरे। प्रधानमन्त्रीको हातबाट पुरस्कार पाउने व्यक्तिहरूमा प्रमुख योगदानकर्ता र सेवा दिनेहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा प्रस्तुत गरेका नयाँ योजनाहरूले देशभरका नागरिकहरूमा विश्वास र सुरक्षा बढाउने विश्वास व्यक्त गरिएको छ। यस योजनाले नेपालका समाजका सबै वर्ग र समुदायको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।



